Sunday, April 25, 2010

शिक्षकहरुमाथि कुटपिट

१२ बैशाख २०६७
एकिकृत नेकपा माओवादी कार्यकर्ताले गोरखाको ताकुमाझ लाकुरीबोट र मकैसीमा स्थानीय शिक्षकहरुमाथि कुटपीट गरेको छ । माओवादी कार्यकर्ताहरुले ताङ्लीचोकको महादेव प्राविका प्रधानाध्यापक देउबहादुर गुरुङ र ताकुमाझ लाकुरीबोटका चन्द्रकला प्राविका शिक्षक शुकबहादुर बरामलाई कुटपीट गरेको हो । कुटपीटबाट घाइते दुवै शिक्षक नेपाली कांग्रेस निकट हुन् ।
एकिकृत माओवादीको घरदैलो अभियानमा रहेको वाइसीएल टोलीले मकैसी घर भइ ताङलीचोक पढाउने शिक्षक देउबहादुर गुरुङलाई निर्घात कुटपीट गरी मरणासन्न बनाएको नेपाली कांग्रेसले बताएको छ । मकैसीको बुटारबाट मकैसीतर्फ जाँदै गर्दा वाइसीएल कार्यकर्ताले वसबाट निकालेर गुरुङलाई कुटपीट गरी घाइते बनाएका हुन् । उहाँको हिजै राती काठमाडौको शिक्षण अस्पतालमा उपचार भएको नेपाली कांग्रेसका जिल्ला सचिव इश्वर पाण्डेले बताउनुभयो । गुरुङको टाउकोमा ८ वटा टाँका लगाइएको छ भने शरीरभरि निलडाम रहेको कांग्रेसले जनाएको छ ।
त्यसैगरी ताकुमाझ लाकुरीबोट गाविसका शिक्षक शुकबहादुर बरामलाई मध्यरातमा ४÷५ जना नकाव लगाएका नचिनेका मान्छेले कुटपीट गरेको नेपाली कांग्रेसले जनाएको छ । हामीलाई पाटिले पठाएको भन्दै राती ११ वजे बरामको घरमा पुगेका नकाबधारीहरुले एक्कासी कुटपीट गर्न थालेपछि भागेर ज्यान जोगाएको पीडितले बताउनुभएको छ । कुटपीट गर्नेहरु मध्ये दुइजनाले माओवादी सेनाको पोशाक लगाएको उहाँले बताउनुभयो । पाटिले पठाएको भनेको र सेनाको ड्रेस लगाएकोले उनीहरु माओवादीनै भएको घाइतेलाई उधृत गर्दै कांग्रेस जिल्ला सचिव पाण्डेले बताउनुभयो ।
उहाँको गोरखा अस्पतालमा उपचार भइरहेको छ । उहाँको शरीरभरि निलडाम अनुहारमा चोट लागेको छ । नेपाली कांग्रेसले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्र दिवशको दिनमा कांग्रेस कार्यकर्तालाई कुटपीट गरेको प्रति आपत्ति जनाएको छ । जिल्ला सचिव किरणबाबु श्रेष्ठद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा दलहरुवीच भएको सहमतिको मसी सुक्न नपाउदै माओवादीले आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने डर धाक धम्की दिने कामको श्रृङखला बढाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा फरक विचार र सिद्धान्तका ब्याक्तिमाथि आक्रमण गर्ने निरंकुश चरित्र प्रदर्शन नगर्न माओवादीलाई आग्रह गरिएको छ । नेपाल शिक्षक युनियन नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र र नेपाल शिक्षक संघले संयुक्त विज्ञप्ति निकालेर घटनाको विरोध गरेको छ ।

उता एकिकृत माओवादीका जिल्ला सेक्रेटरी चुडामणि खड्का प्रकाशले आस्थाको आधारमा कारबाही गर्ने आफ्नो पाटिको कुनै नीति नभएको भन्दै माओवादी संलग्नता अस्वीकार गर्नुभएको छ । उहाँले उक्त घटना सामाजिक किसिमका घटना हुन सक्ने भन्दै पाटि संलग्न नभएको दावी गर्नुभयो ।

No comments: