४ जेठ २०६७
धारामा नियमित रुपमा पानी नआउँदा गोरखा सदरमुकाममा खानेपानीको अभाव भएको छ । पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाले ५ दिनदेखि पानी नियमित वितरण गर्न नसक्दा अभाव भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । घरको धारामा पानी नआएपछि सदरमुकामका वासिन्दा ढुंगेधारामा नै घण्टौ कुरेर खानेपानी ल्याउन बाध्य भएका छन् । ढुङ्गेधारामा पनि पानी भर्नेहरुको भीड लाग्ने हुनाले एक गाग्री पानीका लागि २ घण्टासम्म पर्खनु पर्ने स्थानीयवासीले बताएका छन् । पानीको अभावमा बसपार्क हरमटारी तथा नयाँ बजार क्षेत्रका होटल ब्यवसाय बढी मात्रामा प्रभावित भएका छन् । अभावका कारण ग्राहकहरुलाई पर्याप्त पानी उपलब्ध गराउन नसकेको बसपार्क स्थित होटल सत्यम्का राजन बानियाँले बताउनुभएको छ । सदरमुकामकै कुनै क्षेत्रमा पानी आउने र कुनै क्षेत्रमा पानी नआउने गरेको स्थानीय भगवान मास्केले गुनासो गर्नु भएको छ । पानी आएको बेलामा पनि घरको छतमा राखिएको ट्याङ्कीमा पानी जम्मा गर्न नसकिने उहाँले बताउनुभयो ।
तर साना शहरी खानेपानी आयोजनाले भने विद्युत आपूर्ति नियमित नभएका कारण पर्याप्त पानी उपलब्ध गराउन नसकेको जनाएको छ । गएको २ दिनदेखि विद्युत आपूर्ति नियमित नहुँदा र दिउँसोको समयमा पानी तान्न विद्युत भोल्टेज नपुगी रातको समयमा मात्र पम्प चलाउनु पर्ने बाध्यता भएकोले सदरमुकाममा खानेपानी वितरण गर्न नसकेको आयोजनाले स्पष्ट पारेको छ । निश्चित विद्युत भोल्टेज पुग्ने समयमा थोरै मात्र खानेपानी तान्न सकिने भएको र सो पानी वितरण गर्दा बहाव कम भएर अग्ला घरमा नचढ्ने गरेको आयोजनाका प्राविधिक इश्वर केसीले जानकारी दिनुभएको छ । पानीको आपूर्ति नियमित हुन अझै केही दिन लाग्न सक्ने उहाँले बताउनुभएको छ ।
No comments:
Post a Comment