Tuesday, May 11, 2010

गोरखामा रासायनिक मलको चरम अभाव, किसान महासंघको अपत्ति

२८ बैशाख २०६७
गोरखामा रासायनिक मलको चरम अभाव भएको छ । वजारमा मल अभाव हुदा किसानहरुले मकै चैतेधान र तरकारीवालीमा मल राख्न पाएका छैनन् । जिल्लाका अधिकांश क्षेत्रका किसानहरु मल खोज्दै सदरमुकाम र गाउँघरका ठुला पसलहरुमा भौतारिए पनि मल पाउन नसक्दा निराश बनेका छन् ।
रासायनिक मल बेच्ने सदरमुकामका ठुला पसल र सहकारी पसलमा समेत दैनिक सयभन्दा बढी किसान र गाउँका ब्यापारीहरु मल किन्न आउने गरेका छन् । गोरखामा मल पाइन छाडेको १० दिनभन्दा बढी भइसकेको उपभोक्ता सहकारी संघ गोरखाका ब्यवस्थापक वासुदेव दवाडीले जानकारी दिनुभएको छ ।
जिल्लाको १९ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको मकैवाली र ३ हजार हेक्टरमा लगाइएको चैतेधानमा मल हाल्ने उपयुक्त वेला भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाका अधिकांश मकैवालीमा अहिले रासायनिक मल राख्न नपाएमा मकै उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो ।
जिल्लाको सबै क्षेत्रको खेतीवालीमा गरी २ सय ५० मेटि्रक टन मल आवश्यक पर्नेमा हालसम्म ४० मेटि्रक टन रासायनिक मल मात्र जिल्ला भित्रेको उहाँले बताउनुभयो । सरकारले गोरखाका लागि १ सय ६९ मेटि्रक टन रासायनिक मललाई ढुवानी सहुलियत दिएको छ । जिल्लामा सुपथ मुल्यमा रासायनिक मल ढुवानीका लागि गोरखा एप्रोपि्रयट टेक्नोलोजी फर रिकन्स्ट्रक्शन प्रालिले टेण्डर पारेको छ । रासायनिक मल किन्न उपभोक्ता सहकारी संघ र टेण्डर पार्ने कम्पनीका साचालक मल खरिदकै लागि तीनदिनदेखि विरगाजमा नै वसेका छन् ।
सरकारले भारतवाट समयमा मल आयात गर्न नसकेकाले अभाव हुन पुगेको उपभोक्ता सहकारी संघका ब्यवस्थापक दवाडीले बताउनुभयो । दुईदिनमा मल आउने आश्वासन पाएर मल किन्न गएकाहरु विरगाजमा नै वसेका उहाँले बताउनुभयो ।
उता किसान महासंघ गोरखाले आज एक विज्ञप्ति जारी गरी खेतीको मौसम शुरु भइसक्दा पनि जिल्लामा रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष विपिनचन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा किसानहरुलाई सुपथ मुल्यको मल यथासिघ्र उपलब्ध गराउन माग गरिएको छ ।
समयमा रासायनिक मल आयात नहुनुमा दोषी पहिचान गरी कारबाही गर्न पनि महासंघले माग गरेको छ । महासंघले ४० घण्टा भित्र जिल्लामा मल आपूर्ति नगरेमा संघर्षमा उत्रले चेतावनी दिएको छ ।

No comments: