Saturday, June 12, 2010

अन्तरजातिय विबाहित जोडीलाई सम्मान

२९ जेठ २०६७
दलित उत्थान विकास समीती गोरखाले चोरकाटेमा एक कार्यक्रमको आयोजना गरी अन्तरजातिय विबाह गर्ने जोडीलाई सम्मान गरेको छ । समीतीले क्षेत्र नं २ भित्रका अन्तरजातिय विवाह गर्ने १४ जोडीलाई दोसल्ला र खादा ओढाई फुलमाला र अविरले अभीनन्दन गरेको हो । अन्तरजातिय विवाह गर्नेलाई अझैपनि समाजमा राम्रो दृष्टिले नहर्ने र उनीहरु परीवारबाट नै अपहेलित हुनुपर्ने अबस्था कायमै रहेकाले उनीहरुलाई परीवारमा सहज वातावरण बनाउनका लागी सम्मान गरीएको समीतीले जनाएको छ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा जिल्ल्ाा अध्यक्ष दिलबहादुर सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सचिवालय सदस्य भुवन सुनार माओबादी क्षेत्रिय इन्चार्ज यानप्रसाद भट्ट लालबहादुर विश्वकर्मा लगायतलॆ सरकारले जातिय छुवाछुतमुक्त देश घोषणा गरीसकेको अबस्थामा छुवाछुत गर्नेहरुलाई कारबाही गर्नका लागी सबै लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सम्मानीत जोडीहरुले समाजमा स्थापित हुनका लागी सहयोग गरेकोमा समीतीलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन् ।

माओवादी उपाध्यक्ष डाक्टर भट्टराई अचानक गोरखामा

२९ जेठ २०६७
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई आज अचानक गोरखा आउनुभएको छ । हिजो बिहान ११ बजे गोरखा सदरमुकाम आइपुग्नुभएका भट्टराई कार्यकर्तालाई प्रशिक्षण दिइ दिउँसो ३ वजे काठमाण्डौं फर्किनुभएको थियो । भट्टराई कार्यकर्ता प्रशिक्षण र बैठकमा करिब ४ घण्टा ब्यस्त हुनुभएको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो ।
हरेक महिना गोरखा आउने वाचा गर्नुभएका भट्टराई कुनै सार्वजनिक कार्यक्रम बिना नै गोरखा आउनुभएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आउनुभएको भट्टराईको ब्यस्तताका कारण औपचारिक कार्यक्रम भने गर्न नसकिएको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभएको छ ।
सदरमुकाममा जिल्ला तहका नेतृत्वतहको गोप्य बैठकपछि उपाध्यक्ष भट्टराईले लक्ष्मीवजार स्थित द्रब्यशाह क्याम्पसको सभाहलमा जिल्लाका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिका विषयमा केन्द्रित रहेको जिल्ला इन्चार्ज धितालले जानकारी दिनुभयो । माओवादी सरकारमा गए त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्ने पार्टी निर्णय प्रति असन्तुष्ट रहेका भनिएका भट्टराईले प्रशिक्षणका क्रममा त्यस्तो असन्तुष्टि नजनाउनुभएको जिल्ला इन्चार्ज विजयले बताउनुभयो ।

गोप्लिङ गाउँमा सूचना केन्द्र बनाईने

२९ जेठ २०६७
गोरखाको देउराली गाविस ३ गोप्लिङ गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीयले सूचना केन्द्र निर्माणको तयारी गरेका छन् । गाउँमा पर्यटकीय सूचना केन्द्र निर्माणको लागि अकलादेवी मन्दिर तथा मस्र्याङदी नदी वाँध पर्यटन क्षेत्र व्यवस्थापन समितिले ६० रोपनी क्षेत्रफलमा को पर्यटन सुचना केन्द्र बनाउन लागेको हो । सो सूचना केन्द्रको हिजो एक र्काक्रमका वीच शान्ति तथा पून निमार्ण मन्त्रालयका सचिव शित्तलबावु रेग्मीले शिलन्यास गर्नु भएको हो ।
गोप्लिङ गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न लागि सुचना केन्द्र निर्माण गर्ने र गाउँमा पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम साचालन गरिने अध्यक्ष विष्णु बुढाथोकीले बताउनुभयो । काठमाडौंबाट १ सय २५ पोखरादेखी ७५ किलोमिटरको दुरीमा रहेको सो गाउँको अकलादेवी मन्दिर र मस्र्याङदी बाधँको उपयोग गरी पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो । राजमार्गको छेउमा पर्ने गाउँलाई विश्राम स्थलको रुपमा विकास गर्ने र पिकनिक स्पटको रुपमा पनि प्रयोग गर्न सकिने पर्यटन समितिको भनाइ छ ।
भवन शिलान्यास कार्यक्रममा शान्ति तथा पुननिर्माण सचिव शित्तलबाबु रेग्मी नेपाली कांग्रेसका सचिव इश्वर पाण्डे नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेत प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेपाल पर्यटन बोर्डका पश्चिमााचल क्षेत्रीय निर्देशक गिरीधारी ढकाल जिल्ला वन अधिकृत कृष्ण प्रसाद वस्ती पर्यटनविद विनायक राणा नेपाल पत्रकार महासघंका गोरखाका कोषाध्यक्ष कैलाशवावु श्रेष्ठ गाविस सचिव छविलाल पनेरु कन्यादेवी महिला सहकारीका सचिव नारायणी पन्त समिति सदस्य जगत खड्का लगायतले गाउँको पर्यटन विकासका लागि स्थानीयनै सकि्रय हुनुपर्ने बताउनुभएको थियो । शिलन्यास कार्यक्रममा देउराली सलाङगिरीका वासिन्दाले पाउदुरे चुट्का र साँस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए ।

खानेपानी आयोजना सम्पन्न

२९ जेठ २०६७
गोरखाको घ्याच्चोक गाविसको मिलिम सालघारी र कल्थुमबेशीमा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रले ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सहयोगमा खानेपानी आयोजनाको निर्माण भएको हो । कुल २० लाख ९० हजार ४६ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाको उद्घाटन कार्यक्रममा प्रावि स्तरिय हाजीरी जवाफ प्रतियोगिता र महिला समूह स्तरीय लोक गीत तथा नाच प्रतियोगितामा सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा धनशिरा मा।वि। घ्याच्चोक प्रथम कालिका प्रा।वि। सिम्जुङ्ग दोश्रो मिलिम प्रावि तेश्रो र अन्नपूर्ण प्रावि बाँझेले सान्त्वना स्थान प्राप्त गरेका छन् । त्यस्तै महिला समूह स्तरीय लोक गीत तथा नाच प्रतियोगितामा मिलिम आमा समूह प्रथम मिलिमबेशी महिला समूह दोश्रो र मिलिम महिला समूह तेश्रो भएका छन् । विजेतालाई मिलिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सनबहादुर गुरुङ्गले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा स्वाँरा सघन गाउँ विकास केन्द्रका टिम लिडर सिताराम श्रेष्ठ गाविस सचिव शेखरनाथ न्यौपाने सिताराम पुरुषोत्तम ढकाल नारायण श्रेष्ठ सन्त बहादुर गुरुङ्ग कुवेर गुरुङ्ग कृष्ण कुमारी गुरुङ्ग लगायतले मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष पदम बहादुर गुरुङ्गले आय व्यय विवरण पेश गर्नु भएको थियो । खानेपानीको उद्घाटन कार्यक्रममा पन्चेबाजा सहितको र् याली निकालिएको थियो ।

प्रसुति प्रजनन केन्द्र साचांलन

२९ जेठ २०६७
गोरखाको भुम्लीचोक उपस्वास्थ्य चौकीमा प्रसुति प्रजनन केन्द्र साचांलन भएको छ । गत जेठ १० गतेदेखी उपस्वास्थ्य चौकीले प्रसुति सेवा उपलब्ध गराएको अहेब बेली श्रेष्ठले जानकारी दिनुभएको छ । गाउँमै सुरक्षीत प्रसुति सेवा पाउने भएपछी भुम्लीचोकका महिलाहरु खुसी भएका छन् । अहेब श्रेष्ठका अनुसार सुत्केरी सेवा निशुल्क हुनेछ भने स्वास्थ्य चौकीम्ाा सुत्केरी हुनका लागी आएमा प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ उपलब्ध गराइनेछ । यसैबिच सामुदायीक सेवा प्रतिष्ठान नेपालले समता र पहुँच कार्यक्रम अन्तरगत भुम्लीचोक गाविसमा बनेका १५ समुहलाई आकस्मीक कोष परीचालनका लागी प्रतिसमुह १ हजार ५ सय रुपैयाँ दिएको छ ।

Friday, June 11, 2010

मान्वुबासी दुई सातादेखि अध्यारोमा बस्न बाध्य

२८ जेठ २०६७
गाउँको लघु जलविद्युत आयोजनामा खराबी आएपछि गोरखाको मान्वु गाविसका वासिन्दा दुइसातादेखि विद्युत सेवाबाट विाचत भएका छन् । मान्वु गाविसमा साचालित १०० किलोवाटको छोटेखोला लघु जलविद्युत आयोजनाको टर्वाइनको वेरिङमा खराबी भएपछि कटुन्जे माझगाउँ मान्वुवेशी स्याम्चेत धुन्चेत धोरत थलाचोक गाउँका ७०० घर विद्युत सेवाबाट विाचत भएका स्थानीय रश गुरुङले जानकारी दिनुभएको छ ।
विद्युत सेवा अवरुद्ध भएपछि सो क्षेत्रमा साचालन भएका नमस्ते सीडीएमए र एनसेल मोवाइल सेवा पनि बन्द भएको छ भने प्रहरीको साचार सेटले पनि काम गर्न नसकेको मान्वु चौकी इन्चार्ज पुर्णबहादुर लामाले बताउनुभयो । कक्षा ९ र १० को फाराम भर्ने समयमा विद्युत अवरुद्ध भएपछि विद्यार्थीहरु धेरै पैसा खर्च गरेर दुइदिन टाढाको आरुघाट बजारम्म जानुपर्ने अवस्था आएको छ । आयोजनाको मर्मतका लागि राधा कन्स्ट्रक्सन कम्पनी काठमाडौका प्राविधिकहरु आउनुपर्ने हुनाले उनीहरु नआएसम्म विद्युत सेवा सुचारु हुन नसक्ने आयोजनाका अपरेटर नकुल खत्रीले बताउनुभयो ।

इन्द्रकन्या माविमा थप चारजना छात्रा विरामी

२८ जेठ २०६७
गोरखाको आरुआर्बाङ्गको इन्द्रकन्या माध्यमिक विद्यालयमा आज थप चारजना छात्रा विरामी परेका छन् । विद्यालयमा पढाइ भइरहेको समयमा एक्कासी हास्ने चिच्याउने साथिहरुको किताब कापी च्यात्ने शिक्षकहरुलाई गाली गर्ने जस्ता लक्षण देखिने रोगबाट आजसम्म २० भन्दाबढी छात्रा विरामी परिसकेका घटनास्थलमा पुग्नुभएका हाम्राम सहकर्मी किरण लोहनीले जानकारी दिनुभएको छ ।
विरामी भएका छात्राहरुलाई आज आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका जनस्वाथ्य निरीक्षक कृष्णबहादुर श्रेष्ठ सहितको टोलीले उपचार गरेको छ । उहाँले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया नै भएको बताउनुभएको छ । श्रेष्ठले विरामी विद्यार्थीहरुलाई मानसिक समस्या पर्ने खालको गतिविधि नगर्न र उपयुक्त वातावरण तयार पार्न अभिभावक र शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यालयमा उपचार गरेर फर्केका केही छात्रा घरमा पुगेपछि पनि समस्या दोहोरिएको अभिभावकले बताएका छन् ।
विद्यालय आउने छात्राहरुमा समस्या देखिन थालेपछि अभिभावकहरु पनि आतंकित भएका छन् । एकैघरका दुई भन्दा बढी छात्राहरु समेत विरामी परेका छन् । विद्यालयमा उपचारको प्रयास भएपनि अभिभावकहरुले घरमा धामीझाँक्री समेत लाउन थालेका छन् । अभिभावकहरुको फरक फरक धारणाले पठन पाठनमा समस्या भएको निमित्त प्रधानाध्यापक जीवन लामिछानेले बताउनुभएको छ । संगैका साथिहरु विरामी परेपछि विद्यालयका अन्य छात्राहरु पनि डराएर विद्यालय आउन छाडेका छन् । विद्यालयले उपचारको ब्यवस्था मिलाउने प्रयास गरेकाले सबै विद्यार्थीहरु नडराई विद्यालय आउन पनि निमित्त प्रधानाध्यापक लामिछानेले आग्रह गर्नुभएको छ ।
यसै विषयमा थप जानकारीका लागि सोही विद्यालयमा पुग्नुभएका सहकर्मी किरण लोहनी टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।

शिक्षक अभिनन्दन

२८ जेठ २०६७
नेपाल शिक्षक संघ गोरखाले आज गोरखाका सात जना शिक्षकलाई अभिनन्दन गरेको छ । सदरमुकाममा आज एक कार्यक्रम गरी संघ आबद्ध पूर्व शिक्षकहरु प्रेमबहादुर थापा अर्जुनराज पाण्डे सरस्वती श्रेष्ठ बोधप्रसाद धिताल युवानन्द लम्साल विष्णुभक्त मरहट्टा र देवीरमण खनाललाई अभिनन्दन गरेको हो । उहाँहरुलाई संघका केन्द्रिय उपमहासचिव राजेन्द्रराज पौडेलले दोसल्ला ओढाइ अभिनन्दन गर्नुभएको हो । संघले आजै स्मारिका विमोचन गरेको छ ।
सो कार्यक्रममा उपमहासचिव पौडेलले २०६६ कार्तिक ११ गते शिक्षक संघ संगठन युनियन अनेशिसंघ र सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न संघले दबाब दिइरहेको बताउनुभयो । उहाँले साथै २०६१ साउन २१ गतेभन्दा अगाडी तल्लो तह स्थायी भई माथिल्लो तहमा बढुवा भएका शिक्षकलाई घटुवा नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस गोरखाका सचिव इश्वर पाण्डे एमाले गोरखाका द्रोणाचार्य तिमि_िल्सना स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई नेपाल शिक्षक युनियनका केन्द्रीय सदस्य रहमतुल्लाह मिया जिल्ला अध्यक्ष लुमनाथ लामिछाने नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य प्रेमबहादुर थापा केन्द्रीय प्रतिनिधि सिताराम भट्ट संघका जिल्ला उपाध्यक्ष तयराज गुरुङ्ग साधना त्रिपाठी निरज भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाका सुन्दरसान खड्का मानवअधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी पत्रकार शिव अपि्रय अभिनन्दित सरस्वती श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष नुरेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सरसफाई संबन्धि चेतनामुलक कार्यक्रम

२८ जेठ २०६७
एघारौ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा गोरखा पालुङटार ९ को धर्मावती प्राविले गाउँमा सरसफाई संबन्धि चेतनामुलक कार्यक्रम गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले साचालन गरेको विद्यालयको अगुवाइमा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयले गाउँको तल्लो फाँट कृष्ण मन्दिर डुम्रीचौर हवाइमैदान छुची बजार हुदै मस्र्याङदी युवा क्लबको कार्यालय सम्म बिभिन्न चेतनामुलक नारा लगाएका थिए । त्यसपछिको कोणसभामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज कंडेल मस्र्याङदी क्लब अध्यक्ष काचन तामाङ प्रधानाध्यापक परासर देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।

Thursday, June 10, 2010

सदरमुकामको फोहोर भोली विहानदेखि उठ्ने

२७ जेठ २०६७
गोरखा सदरमुकामको फोहोर भोली विहानदेखि उठ्ने भएको छ । डम्पिङ साइट क्षेत्रका वासिन्दाले गठन गरेको संघर्ष समिति नगरपालिकाको राजनीतिक संयन्त्र र कार्यकारी अधिकृतको संयुक्त वार्तामा स्थानीय वासिन्दाको माग संबोधन हुने गरी ५ बुँदे सहमति भएपछि भोलीदेखि फोहोर उठ्ने भएको हो ।
आज दिउँसो भएको वार्तामा नगरपालिकाले डम्पिङ साइट ब्यवस्थित गर्न र सडकको स्तरोन्नती गर्न यसवर्ष ५ लाख रुपियाँ दिने नगरपालिकाको जगेडाकोषको वजेट विजियोजन गर्दा डम्पिङ साइट भएको वडालाई प्राथमिकता दिने नगरपालिकाले हरेक वर्ष ३ लाख रुपियु डम्पिङ साइटका लागि छुट्याउने सहमति भएको थियो । त्यसैगरी वडा राजनीतिक संयन्त्र र नगरपालिकाका कर्मचारी सम्मिलित ५ सदस्यीय डम्पिङ साइट अनुगमन तथा ब्यवस्थापन समिति गठन गर्ने र भएका सहमतिहरु ५ वर्षसम्म मात्र लागु गर्ने सहमति भएको संघर्ष समितिका सचिव नारायण कुँवरले जानकारी दिनुभएको छ ।
नगरपालिकाले ७ वर्षदेखि वडा नंबर ८ को जुँगेपानीमा फोहोर फाल्दै आएको थियो । स्थानीय वासिन्दाले फोहोर फाल्ने ठाउँ ब्यवस्थित बनाउनुपर्ने सडक ग्राभेल गर्नुपर्ने र नाला खन्नुपर्ने माग गरेका थिए । पटक पटक समस्या वताउँदा पनि नगरपालिकाले वेवास्ता गरेपछि स्थानीय वासिन्दाले एक साता अघि फोहोर लिएर गएको ट्याक्टर फिर्ता पठाएका थिए । सहमति भएपछि भोलीदेखि सदरमुकामको चोकचोकमा थुपि्रएका फोहोरहरु उठ्ने नगरपालिकाले जनाएको छ ।
आजको वार्तामा एकीकृत माओवादीका तर्फबाट नगर संयन्त्र सदस्य अमृत केसी नेपाली कांग्रेसका भगवान श्रेष्ठ नेकपा एमालेका कृष्णमान श्रेष्ठ र सानुमाया बस्नेत संघर्ष समितिका सचिव नारायण अधिकारी नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारी सहभागी हुनुभएको थियो ।

जिल्लाको सुगम क्षेत्रमा जस्तै दुर्गममा पनि समान रुपले विकासका कामहरु अघि बढाउनुपर्ने-सभासद् अमर तमु

२७ जेठ २०६७
गोरखाको क्षेत्र नंबर ३ बा विजयी सभासद् अमर तमुले जिल्लाको सुगम क्षेत्रमा जस्तै दुर्गममा पनि समान रुपले विकासका कामहरु अघि बढाउनुपर्ने बताउनुभएको छ । गोरखाको मान्वु गाविसका वासिन्दासंगको छलफलमा सभासद् तमुले उत्तरी गोरखाकेा विकासका लागि सडक विस्तारमा जोड दिनुपर्ने बताउनुभएको हो ।
उहाँले चीनको सिमानासम्म सडक विस्तार गर्न सकेमा जिल्लाको उत्तरी क्षेत्रमा पनि समान रुपमा विकास हुने धारणा राख्नुभयो । सो अवसरमा मान्वुका वासिन्दाले आफ्नो गाविसमा भएका समस्याबारे सभासद्लाई जानकारी गराएका थिए । सो अवसरमा एकीकृत माओवादीका गाविस सेक्रेटरी अमरिसं थापा भवानी उच्च माविका निमित्त प्रचार्य काजीराम कार्की विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुर्यबहादुर कार्की स्थानीय शिक्षक विजयराज घले स्थानीय युवा बाबुकाजी थापा दलित तथा उत्पीडित समाजका सन्तबहादुर विक सोमप्रसाद रिजाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

जिल्ला स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिता आयोजना

२७ जेठ २०६७
११ औं राष्ट्रिय सरसफाई सप्ताहका अवसर पारेर जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जिल्ला स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । जिल्ला शिक्षा कार्यालय गोरखाको संयोजकत्वमा भएको सरसफाई र हाम्रो स्वास्थ्य विषयक प्रतियोगितामा गोरखाका ६ वटा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा रामशाह मावि देउराली महेन्द्र उच्च मावि कुन्दुर महालक्ष्मी उच्च मावि लक्ष्मीवजार महेन्द्रज्योति उच्च मावि दरवारमार्ग रत्नराज्य मावि विरेाचोक र विजया भवानी उच्च मावि मकैिसंको सहभागिता रहेको शिक्षा कार्यालयले जनाएको छ । प्रतियोगिताको नतिजा भोली सार्वजनिक गरीने कार्यालयले जनाएको छ । प्रतियोगीतामा पहिलो हुनेले २ हजार दोस्रो हुनेले १ हजार ५ सय तेस्रोले हजार र चौथोले ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै जिल्ल्ाा शिक्षा अधीकारी योगराज भट्टराईले सामुदायीक सरसफाईमा विद्यार्थीहरुको भुमीका महत्बपुर्ण हुने बताउनुभयो ।
सरसफाई सप्ताहकै अबसरमा गोरखाको भुम्लीचोकको थुम्का प्राविको अगुवाईमा विद्यालयको सेवा क्षेत्रभित्र सरसफाई गरीएको छ । गाउँका आमा समुह युवा समुह विद्यार्थी र शिक्षकहरुले एक र् यालीका साथमा विद्यालय सेवा क्षेत्रभीत्र सरसफाई गरेका हुन् । र् यालीपछी आयोजीत कार्यक्रममा प्रधानाध्यापक कमल रेग्मी शिक्षक तेजप्रसाद भट्टराई दिलमाया चेपाङ लगायतले गाउँमा चर्पी बन्न बाकीँ घरमा पनि चाडै नै चर्पी बनाई गाउँलाई पुर्ण सरसफाई क्षेत्र बनाउने बताएका छन् । कार्यक्रम विद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष प्रेमबहादुर चेपाङको अध्यक्षतामा भएको हो ।

गोरखाको एक विद्यालयमा अनौठो रोग

२६ जेठ २०६७
गोरखाको आरुअर्वाङ्ग गाविस ४ कल्लेरीको इन्द्रकन्या माध्यमिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखा परेको छ । विद्यालयमा पढाई भैरहेका बेला छात्राहरु एक्कासी बेहोश हुने रुने चिच्याउने र अश्लिल शब्द बोल्ने समस्या देखिएको शिक्षक राजकुमार लामाले जानकारी दिनुभएको छ । एक हप्तादेखि सुरु भएको यस्तो समस्या हालसम्म १६ छात्राहरुमा देखिसकेको उहाँले बताउनुभयो ।
हाल दैनिक २÷३ जनामा यस्तो समस्या देखिदै आएको छ । अचानक बहोश भएका छात्राहरुले होशमा आएपछि जथाभावी दौडने ढुङ्गा र हतियारले साथी र शिक्षकहरुलाई हिर्काउने गरेपछि पठनपाठनमा समेत समस्या देखिएको विद्यालयले जनाएको छ । विरामी भएका विद्यार्थीहरु मध्ये कतिपय घरमा पुगेपछि सामान्य भएपनि कतिपयमा भने समस्या दोहोरिएको अर्का शिक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । बिरामी परेका विद्यार्थीलाई ९÷१० जना विद्यार्थीले समातेर घरतिर लैजादा समेत उनीहरु भाग्ने र जथाभावी दौडेर समस्या पारेका उहाँले बताउनुभयो ।
समस्याबारे विद्यालयले अभिभावक र स्थानीय स्वास्थ्यकर्मीसँग छलफल गरेको छ । रोग नियन्त्रणको उपाय निकाल्न नसकेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक लामाले बताउनुभयो । दिनदिनै देखिएको यस्तो समस्याले सामान्य अवस्थ्ााका विद्यार्थीहरु पनि समस्यामा परेका छन् भने कतिपयलाई यस्तै समस्या देखापरेको छ । विद्यालयमा देखिएको समस्याप्रति अभिभावक र शिक्षकहरु चिन्तित भएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डाक्टर गुणराज लोहनीले उक्त समस्या मास हिस्टेरियाका कारण भएको बताउनुभयो । परीक्षा नियमित अध्ययन वा अन्य घरायसी वातावरणका कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हुनसक्ने उहाको भनाइ छ । उचित मनोबिमर्श र औषधी सेवनबाट समस्या समाधान हुने उहाँले स्पष्ट पार्नुभयो ।

खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

२६ जेठ २०६७
एघारौ सरसफाई सप्ताहको अवसर पारेर गोरखा पालुङ्गटारको पालुङ्गटार खानेपानी तथा सरसफाई आयोजना आज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आयोजनालाई एक कार्यक्रमका वीच खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख धु्रवमणी पौडेलले नयाँवजार हवाई ग्राउण्ड खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष चीजकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल सरकारको ६० लाख ७५ हजार र उपभोक्ताहरुको १३ लाख सहित कुल ७३ लाख ७५ हजार रुपैयाको लागतमा निर्माण भएको आयोजनाको हिजै स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । आयोजनाबाट पालुङ्गटार ९ को नयाँवजार हवाई ग्राउण्ड र गाइखुर २ कालामाटाका १ सय ९० घरले घरघरमा खानेपानीको सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुगेपछि आयोजना क्षेत्रलाई खुला दिशाुमुक्त क्षेत्र घोषणा गरिएको छ । खुला दिशामुक्त क्षेत्र घोषणापछि स्थानीयले खुला ठाउँमा दिशापिसाव गर्नेलाई ५० देखि १०० रुपियाँसम्म जरिवाना गर्ने बताएका छन् ।
नयाँबजार हवाइग्राउण्ड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चीजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख धु्रवमणि पौडेल भवानी उच्च माध्यमिक विद्यालयका प्राचार्य उमाकान्त देवकोटा भैरवी दल गुल्मका गुल्मपति चक्र श्रेष्ठ पालुङ्गटार गाविसका सचीव सीताराम गिरी गोरखकाली सहकारी संस्थाका अध्यक्ष सरोज देवकोटा खानेपानी उपभोक्ता समिति सचिव रामबहादुर गुरुङ्ग कोषाध्यक्ष चित्रबहादुर श्रेष्ठ धर्मावती प्राथमिक विद्यालयका प्रधानाध्यापक परासर देवकोटा मिलिजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठ मस्र्याङदी युवा क्लवका अध्यक्ष काचन तामाङ्ग चन्द्रकाजी श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।
सो अवसरमा उपभोक्ता समितिले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्ने कर्मचारी ठेकेदार उपभोक्ता लगायतलाई सम्मान गरेको थियो

जवर्जस्ती चन्दा र ज्यानमार्ने धम्की बन्द गर्न माग

२६ जेठ २०६७
लमजुङका तीन शिक्षक संघसंगठनले एकीकृत माओवादी र वाईसीएलको जवर्जस्ती चन्दा र ज्यानमार्ने धम्की बन्द गर्न माग गरेका छन् । नेपाल शिक्षक युनियन नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी चन्दा र धम्की नरोकेमा माओवादी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले चन्दा आतंक र ज्यान मार्ने धम्कीका कारण केही शिक्षकहरु विस्थापित समेत भएको बताएका छन् ।
शिक्षक संघमा आवद्ध माधव वाग्ले अखिल नेपाल शिक्षक संगठनसंग आवद्ध मण्डली प्रावि पाचोकका शिक्षक बासुदेव घिमिरे र पूर्व शिक्षक हरिश्चन्द्र पण्डित लगायतलाई वाईसीएले चन्दा नदिएको भन्दै गत जेठ १४ गते श्रीमाज्याङ गाविस-२ लामाबगरमा कुटपिट गरेका थिए ।
पीडित शिक्षकहरुबारे अनुगमन गरेको शिक्षक संघ संगठन अधिकारकर्मी र संचारकर्मी सहितको टोलीले गरेको शिक्षकहरु विद्यालय जना सक्ने अवस्थामा नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । टोलीले सार्वजानिक गरेको प्रतिवेदनमा धम्की र चन्दा आतंकका कारण शिक्षकहरुको मनोवल खस्किएको उल्लेख गरिएको छ । शिक्षकहरुले दोषीलाई यथाशिघ्र कार्वाही गरि निर्वाध रुपमा पढ्न र पढाउन पाउने शिक्षक विद्यार्थीको संविधान प्रदत्त मौलिक अधिकारको सहज शैक्षिक वातावरण सिर्जना गरिदिन प्रेश विज्ञप्ति मार्फत पनि आग्रह गरेका छन् ।
यता एकीकृत माओवादी लमजुङले भने कसैलाई पनि कुटपिट नगरेको जवर्जस्ती चन्दा नमागेको र कसैलाई धम्की पनि नदिएको दावी गरेको छ ।

Tuesday, June 8, 2010

गोरखा सदरमुकामको फोहोर केही दिनमा उठ्ने संकेत

२५ जेठ २०६७
गोरखा सदरमुकामको फोहोर केही दिनमा उठ्ने संकेत देखिएको छ । कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले फोहोर फाल्ने क्षेत्रको विकासका लागि थप दुइलाख दिने प्रतिवद्धता जनाएपछि नगरपालिका वडा नंबर ८ का प्रतिनिधिहरु गाउँमा छलफल गरेर निर्णय गर्ने भन्दै बाहिरिएका थिए । बैठकपछि स्थानीयले तत्काललाई सदरमुकामको फोहोर फाल्नलाई डम्पिङ साइट केही दिन खुला गर्ने विषयमा गाउँ छलफल गरेका छन् । एक दुइ दिनभित्र छोटो अबधीक्ा लागि खुलाउने स्थानीय अमृत केसीले बताउनुभयो ।
आफुहरुले पैसाको लागि नभइ डम्पिङ साइटबारे नगरपालिका र राजनीतिक दलको ध्यानाकर्षण गराउन र दिर्घकालीन समाधानको लागि आन्दोलन गरेको केसीले बताउनुभयो । वडा नंबर ८ का वासिन्दा तर्फबाट आज वार्तामा सहभागीहरुसंग कार्यकारी अधिकृत अधिकारीले यसैवर्ष खर्च गर्न सक्ने गरी ४ लाख रुपियाँ दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले चाडै उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न समेत आग्रह गर्नुभएको छ ।
स्थानीय वासिन्दाले भने समस्याको दिर्घकालीन समाधानका लागि एक पटक राजनीतिक दलका प्रतिनिधिहरुसंग छलफल गरेर मात्र फोहोर फाल्न दिने विषयमा निर्णय लिने बताएका छन् । राजनीतिक दलले फोहोरको समस्यालाई उपेक्षा गरेकोले उनीहरुलाई समस्या अवगत गराउन वार्तामा वस्ने केसीले बताउनुभयो ।
नगर संयन्त्रमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफुहरु सो समस्याप्रति गम्भीर भएको भन्दै समस्या समाधानका लागि सहयोग गर्ने बताएका छन् । स्थानीय वासिन्दाको अबरोधका कारण गोरखा सदरमुकामको फोहोर ६ दिनदेखि उठ्न सकेको छैन । आफुहरुको समस्या नबुझी नगरपालिकाले हचुवाको भरमा वजेट छुट्याएको भन्दै लक्ष्मीबजारका वासिन्दाले जुगेपानीमा फोहोर फाल्न नदिएका हुन् । फोहोर उठ्न नसक्दा सदरमुकामका हरमटारी शक्तिचोक वसपार्क लगायतका ठाउँको सडकमा फोहोर थुपि्रन थालेको छ । फोहोरका कारण वसपार्क क्षेत्रमा दुर्गन्ध समेत फैलन थालेको छ ।

मृत फेला

२५ जेठ २०६७
५ दिन अघि घरबाट माछा मार्न भनी हिडेका घ्याल्चोक २ को वीरबहादर भुजेल आज त्रिशुली र बुढी गण्डकीको दोभानमा मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनी हिडेका ४८ वर्षिय भुजेललाई आज आफन्तजन जनपद र ससस्त्र प्रहरीको खोजी टोलीले मकैसी वडा नंबर २ माथिल्लो बुटारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दलित शशक्तिकरण कार्यक्रम साचालन गर्ने

२५ जेठ २०६७
दलित शशक्तिकरण अभियान नेपाल गोरखाले जिल्लाको क्षेत्र नंबर २ को ६ गाविसमा दलित शशक्तिकरण कार्यक्रम साचालन गर्ने भएको छ । संस्थाले जिल्लाको आँपपीपल हर्मी खोप्लाङ्ग छोप्राक पालुङटार र गाइखुर गाविसमा लोकतान्त्रिक प्रकि्रयामा दलित शशक्तिकरण र सहभागीता विषयको कार्यक्रम साचालनको तयारी भएको जिल्ला अध्यक्ष बालकृष्ण अच्छामीले जानकारी दिनुभएको छ ।
संस्थ्ााले आज गोरखा सदरमुकामम आयोजना गरेको कार्यक्रममा अध्यक्ष अच्छामीले गाउँका बिभिन्न समितिहरु राजनीतिक दल लगायतका संघ संगठनमा दलितहरुको सहभागीता वृद्धिका लागि कार्यक्रम साचालन गर्न लागेको बताउनुभयो ।
स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटा गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी आँपपीपल गाविसका सचिव रामचन्द्र मरहट्टा लगायतले मन्तब्य राख्नुभएको थियो । सो संस्थ्ााले आर डी आइ एफ नामक संस्थाको सहयोगमा ६५ लाख बराबरको कार्यक्रम साचालनको तयारी गरेको हो ।

स्थानीयलाई आतंकित पार्ने पक्राउ

२५ जेठ २०६७
गोरखाको लापु गाविमा लुटपाटको प्रयास गरी स्थानीयलाई आतंकित पार्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । लापु गाविस १ लिदिङमा स्थानीयसंग कानमा लगाउने रिङ बेरुवा औठी लगायत मोटो रकम लुटपाटको प्रयास गर्नेहरुलाई आर्खेत र मान्व प्रहरी चौकीले थुमीको स्यामराङ र मान्वुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरीले काठमाडौ गोलढुङ्गा २ का प्रवेश महर्जन र चन्द्रंबहादुर श्रेष्ठ झापा दमक नगरपालिका ११ का आकाश राई र राजु लामिछाने सिन्धुली नगरपालिका ५ का गोविन्द खत्री सिन्धुपाल्चोक २ फटकसिला २ का कुन्तेबहादुर तामाङ र उदयपुर गाइघाटका उमेश परियारलाई पक्राउ गरेको हो । उनीहरुलाई डाका चोरी अभियोगमा प्रहरीले कारबाही अगाडी बढाएको छ ।

ङादी जलविद्युत आयोजनाकॊ निर्माण कार्य तीब्र

२५ जेठ २०६७
लमजुङको वाहुनडाडा र भुलभुले गाउँ विकास समिति स्थित निमार्णधिन २६ मेगावट क्षमताको ङादी जलविद्युत आयोजनाकॊ निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ । आयोजनाको सुरुङ खन्ने काम आगामी माघ महिनामा सुरु गर्ने तयारी आयोजनाले थालेको छ । ४ किलोमिटर लामो सुरुङ रहने आयोजनाले जानकारी गराएको छ । आयोजनाको ११ किलो मिटर बाटो निमार्ण गर्नुपर्नेमा हालसम्ममा ६ किलो मिटर मोटर बाटो निमार्ण भइसकेको छ ।
करिव साँढे ३ अर्व रुपैयाको लागतमा निमार्णधिन अवस्थामा रहेको विद्युत आयोजनाको वाँध स्थल वाहुनडाडा नाइचे नजिक रहने र आयोजनाको पावर हाउस वाहुनडाडा ठूलोवेसीमा रहनेछ । वुटवल पावर कम्पनी लिमिटेड क्यानेडियन एभरेष्ट पावर आइ एन सि को प्रमुख लगानी र लमजुङ विद्युत उपभोक्ता कम्पनी लिमिटेडको साझेदारीमा निर्माण सुरु भएको आयोजनामा वाहुनडाडा र भुलभुले गाविसका वासिन्दालाई समेत सेयर सुरक्षित गरिएको छ ।

खाद्यवस्तुमा मिसावटको शंका प्रत्येक जिल्लामा निरीक्षण गर्ने माग

२५ जेठ २०६७
खाद्यवस्तुमा मिसावट देखिएको भन्दै लमजुङका उपभोक्ताहरुले यसको निरीक्षण गर्न प्रत्येक जिल्लामा एक निरीक्षक र प्रयोगशालाको माग गरेका छन् । सदरमुकाम वेसीशहरमा आज आयोजीत एक कार्यक्रममा उनीहरुले निरीक्षक र प्रयोगशालाको अभावमा उपभोक्ताहरु ठगिएको भन्दै स्थानीय प्रशासन र सरकारले ठोस कदम चाल्नुपर्ने वताएका छन् ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको खाद्य स्वच्छता तथा गुण नियन्त्रण संवन्धि अन्तरकि्रया कार्यक्रममा खाद्य सामाग्रीमा जथाभावि रंग र विषादी मिसाईनुका साथै लेभल टाँस नगरिएका सामाग्री भेटिएपनि संवन्धित निकायले चासो नदेखाएको भन्दै उपभोक्ताहरुले आक्रोस पोखेका थिए । खाद्य सामाग्रीमा उत्पादन मिति प्रयोग अवधि उत्पादक कम्पनी ब्याच नम्बर तथा पसलहरुमा सामानको मुल्य सूचि लगायत स्पष्ट उल्लेख नगरीएकोमा उनीहरुले असन्तुष्टी जनाएका छन् ।
कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका खाद्य निरीक्षक श्रवणकुमार ढुंगाना र जिल्ला खाद्य निरीक्षण ईकाई पोखरा कास्कीका खाद्य निरीक्षक राम प्रसाद रेग्मीले खाद्य पदार्थ र उपभोक्ता सरोकार जिल्ला न्यायधिवक्ता वालकृष्ण वाग्लेले उपभोक्ताको कानुनी अधिकार प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले स्थानीय प्रशासनको भूमिका र लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले ब्यवसायीहरुको दायित्वको वारेमा जानकारी गराउनुभएको सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

Monday, June 7, 2010

गोरखा बजार दुगन्धित बन्दै

२४ जेठ २०६७
गोरखा सदरमुकाममा पाँचदिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्न थालेको छ । फोहोर उठ्न छाडेपछि सदरमुकामको हरमटारी शक्तिचोक वसपार्क ठुलोआँगन लगायतका ठाउँका सडकमा फोहोर थुपि्रन थालेका छन् । सडक छेउमा थुपारिएको फोहोर गन्हाउदा बटुवाहरु समस्यामा परेका छन् ।
गोरखा नगरपालिकाले हरेक दिन उठाउदै आएको फोहोर पाँचदिनदेखि उठाउन छाडेपछि सडकमा फोहोर थुपि्रन थालेको हो । नगरपालिका ८ को जुगेपानीमा फाल्दै आएको फोहोर स्थानीय वासिन्दाको अबरोधका कारण पाँचदिनदेखि उठ्न नसकेको हो । स्थानीय वासिन्दाले सडक फराकिलो बनाउनुपर्ने डम्पिङ साइट ब्यवस्थित गर्नुपर्ने लगायतका माग राख्दै जेठ २० गतेदेखि फोहोर फाल्न रोक लगाएका थिए ।
फोहोर फाल्ने विषयमा स्थानीय वान्दिासंग कुरा नमिलेकाले फोहोर उठाउन नसकिएको कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले बताउनुभयो । स्थानीय वासिन्दासंग भोली विहान छलफल गरी फोहोर उठाउने विषयमा कुरा मिलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभएको छ । स्थानीय वासिन्दाले धेरै रकमको योजना माग गरेपनि नगरपालिकासंग अहिले खर्च गर्नका लागि २ लाख रुपियाँ मात्र वजेट छ ।
फोहोर तत्काल उठाउन स्थानीय वासिन्दालाई सहमत गराउन वजेट थपको लागि राजनीतिक दलको संयन्त्रमा पनि छलफल गर्ने कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । उहाँले राजनीतिक दल सहमत भएमा स्थानीय वासिन्दालाई चित्त बुझाइ तत्काल फोहोर फाल्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । नगरपालिकाले फोहोर ब्यवस्थापनलाई दिर्घकालीन रुपमा समाधान गर्न नयाँ डम्पिङ साइट निर्माणको जरुरी भएपनि तत्काललाई सोही ठाउँमा नै फाल्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।
उता स्थानीय वासिन्दाले भने माग पुरा नगरेसम्म फोहोर फाल्न नदिने बताएका छन् । नगरपालिकाले आफुहरुको माग बमोजिमको काम गरेको अवस्थामा मात्र फोहोर फाल्न दिने एकीकृत माओवादीका तर्फबाट वडा संयन्त्र सदस्य अमृत केसीले बताउनुभयो ।

पालुङटारमा स्याटेलाइट क्लिनिक साचालन

२४ जेठ २०६७
गोरखाको पालुङटार गाविसको हवाइग्राउण्डमा आज स्याटेलाइट क्लिनिक साचालन भएको छ । हरेक महिनाको २४ गते हुदै आएको क्लिनिकमा आज गोरखा अस्पतालका डाक्टर गुणराज लोहनीले १ सय ३३ जनाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
क्लिनिकमा धेरैजसो स्त्रीरोगका विरामीहरु जाँच गराउन आएका स्थानीय मिलिजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ । क्लिनिकमा विरामी जाँच गराउन गोरखा अस्पतालका डाक्टर लोहनी नै सहभागी भएकोमा स्थानीय महिलाहरु खुशी भएका उहाँले बताउनुभयो । महिलाहरुले हरेक महिना विरामी जाँचका लागि आउन डाक्टरलाई आग्रह गरेका छन् ।

Sunday, June 6, 2010

ढुङ्गा झिक्ने क्रममा मृत्यु

२४ जेठ २०६७
खानीबाट ढुङ्गा झिक्ने क्रममा ढुङ्गाले लागेर गोरखा बक्राङ ९ का एकजनाको ज्यान गएको छ । लुदीखोलास्थित ढुङ्गाखानीमा ढुङ्गा झिकिरहेको अवस्थामा ढुङ्गाले लागेर घाइते भएका ५५ वर्षिय देवबहादुर आलेको गोरखा अस्पतालमा उपचार हुन नसकी काठमाडौ लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।
ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेको उहुलाई गोरखा अस्पतालले काठमाडौको न्युरो अस्पतालमा रिफर गरेको थियो । काठमाडौ लैजादा गोरखाको अबुँवा नजिक ज्यान गएपछि अहिले उहाँको शब पोष्टमार्टमको लागि गोरखा अस्पतालमा राखिएको छ ।

सकियो सातौ रोट महोत्सव

२३ जेठ २०६७
गोरखनाथ प्रकट दिवश अर्थात वैशाख पुर्णिमाको दिनदेखि गोरखाको गोरखनाथ मन्दिरमा सुरु भएको सातौ रोट महोत्सव आज सकिएको छ । एघार दिनको महोत्सपवमा गुरु गोरखनाथलाई सवालाख रोट चढाएपछि आज महोत्सव सकिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवको अन्तिम दिन मन्दिरका तीनजना ब्राम्हण पुजारीले विशेष मन्त्रले पुजा गरेपछि औपचारिक समापन गर्ने कार्यक्रम छ ।
चामलको पिठोमा चिनी नरिवल ल्वाङ सुकुमेल दालचिनी लगायतका ५२ थरी मसला मिलाएर घिउमा पकाएको परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई बढी मनपर्ने परिकार रोट भएकाले उहुलाई खुशी बनाउन सवालाख रोट चढाएको शक्ति केन्द्रका सावरपन्थी राम्जी अर्यालले जानकारी दिनुभएको छ ।
महोत्सव अबधिभर गुरु गोरखनाथलाई रोट चढाउन काठमाडौ भक्तपुर ललितपुर सिन्धुपाल्चो तनहँुँ कास्की लमजुङ चितवन लगायतका जिल्लाबाट भक्तजनहरु गोरखा आएका थिए । गरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि कायम हुने विश्वासमा महोत्सव गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको ११ दिनमा २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी दैनिक दुइहजार भक्तजनहरु आएपनि गएको शनिवार भक्तजनहरुको अत्याधिक सहभागीता रहेको थियो ।

देउसीको रकमबाट खानेपानी आयोजना निर्माण

२३ जेठ २०६७
गोरखाको ताप्ले-१ का महिलाहरुले देउसीभैलो खेलेर जम्मा पारेको रकमले गाउँम्ाा पधेरो निर्माण गरेका छन् । ताप्ले १ शिखरको जनजागरण महिला समुहले गएको तिहारमा देउसी भैलोबाट जम्मा गरेको २५ हजार २ सय ५७ रुपियाँबाट गाउँको ठुलो पधेरो र ज्यामिरे अस्लामी खानेपानी योजना निर्माण गरेका समूहकी अध्यक्ष शुर्यमाया श्रेष्ठले जानकारी दिनुभएको छ ।
महिलाहरुले खानेपानी योजना निर्माण गर्दा ३० हजार ७ सय २० रुपैयाँ बराबरको श्रमदान समेत गरेका थिए । सो खानेपानी आयोजनाको एक कार्यक्रमका वीच अस्ती उद्घाटन गरिएको छ । महिला समुहकी अध्यक्ष सुर्यमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कपिलदेब तिवारी भक्तप्रसाद श्रेष्ठ र कृष्णकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।
उता गोरखाको आरुआर्वाङ्ग ७ पाखुरेको लालीगुराँस महिला समुहको अगुवाईमा गाविसको तोरीस्वाँरादेखि गैह्री स्वाँरासम्मको बाटो मर्मत गरिएको छ । गाविसबाट प्राप्त दश हजार र जनश्रमदानबाट बाटो मर्मत गरीएको महिला समुहकी सचिव सुजाता गुरुङ्गले जानकारी दिनुभएको छ ।
त्यसैगरी गाउँ विकास समितिबाट लिएको पैसाले गोरखाको फिनाम गाविस ३ धनुवासे टोलका वासिन्दाले खानेपानीको धारा मर्मत गरेका छन् । जिर्ण भएको गाउँको धारा र ट्याङ्कीको जिर्णोद्धार गरेर स्थानीय वासिन्दाले गाउँमा खानेपानीको सविधा पुर् याएका छन् ।
गाविसले १ लाख १० हजार रुपियाँ दिएपछि ४० हजार वराबरको श्रमदान गरेर उनीहरुले खानेपानीको ट्याङकी र धारा बनाएका हुन् । खानेपानी योजना निर्माण भएपछि स्थानीय ४९ घरधुरीका ५ सय १३ जना लाभान्वित भएका शिक्षक अब्दल करिम मियाँले जानकारी दिनभएको छ ।
खानेपानी आयोजनाको एक कार्यक्रमका वीच स्थानीय वयोवृद्ध नरजंग थापाले उद्घाटन गर्नुभएकोृ हो । कार्यक्रममा गाविस सचिव रामबहादुर बल्छौडी स्थानीय शंकरबहादुर थापा कुमारीदेवी थापा सब इन्जिनियर कृष्णबहादुर खड्काले मन्तब्य राख्नुभएको थियो ।

डाक्टर भक्तमान श्रेष्ठ अपहरण मुक्त

२२ जेठ २०६७
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठ आज बिहान अपहरण मुक्त हुनुभएको छ । डा श्रेष्ठलाई धािद¨को जोगीमारा गाविसको एक सहकारी भवन नजिक ल्याएर आज बिहान २ बजे अपह्रणकारीले मुक्त गराएका हुन । अपहरणबाट मुक्त भए लगत्तै डाक्टर श्रेष्ठ धािद¨ काठमाण्डौ सडक खण्ड स्थित नेपाल सडकबोर्डको ढाट कार्यालयमा पुग्नु भएको थियो । उहा अपहरण मुक्त भएको खबर थाहापाए पछि बिहान ४ बजे डा श्रेष्ठको पत्नि शिलु भाई जगतमानका साथै प्रहरीको टोली श्रेष्ठलाई लिन धािद¨ जानुभएको थियो । उहा बिहान सातबजे चितवन आइसकेपछि प्रहरी सुरक्षाको घेरामा क्यान्सर अस्पतालमा छिर्नुभएको थियो । डा श्रेष्ठको हातमा केहीले बाधेकेा जस्तो डोब रहेकेा छ । डाक्टर श्रेष्ठले पत्रकार सम्मेलनमा आफ्नो अपहरण नेपाल जनता हिन्दु पार्टीले गरेको बताउनु भयो ।
आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले आफूलाई किन अपरण गरियो र कहु राखिएको भन्ने बारेमा जानकारी नदीएपनि उनीहरुले आफूलाई कुनै दुब्र्यबहार नगरेको बताउनुभयो । घरको भूइमा पत्रकार सम्मेलन गर्ने ठाउ छुट्याइएपनि श्रेष्ठ छतमा गएर माथिबाटै पत्रकारलाई सम्वोधन गर्नु भएको थियो । पछि पत्रकारहरु बिच आएर उहाले आफु अपहरणमा पर्दा चासो र चिन्ता ब्यक्त गर्दै खोजिका लागि पहल गर्ने सबै सहकर्मिपत्रकार सुरक्षा कर्मि र आफुलाई अपहरण गरेपनि सकुशल मुक्त गर्ने नेपाल जनता हिन्दु पार्टीलाई पनि धन्यबाद दिनु भएको थियो ।
डा श्रेष्ठको प्रारम्भिक स्बास्थ्य परीक्षण गर्दा समान्य पाइएको भएपनि केही समय उहांलाई आरामको आबश्यकता रहेको डा जया श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मध्यमान्चल प्रहरी प्रमुख नबराज ढकालले घटनाका बारेमा अनुसन्धान भैरहेको र सहि समय आएपछी मात्र त्यस बारे थप जानकारी दिने बताउनु भयो । भरतपुर स्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको गत जेष्ठ ४ गते बिरामीको अपरेशन गरॆर घर फर्किने क्रममा अपहरण भएको थियो । अपहरण पछि उहाको गाडी पोखराको कुडहरमा र बि्रफकेश अपहरणको ५ दिनपछि चितवनको घोप्टे भिरमा फेला परेकेा थियो ।

मृत भेटीएकी रानाको परीवार गोरखामा

२२ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा हिजो मृत भेटीएकी रुपा रानाको परीवार गोरखा आइपुगेको छ । घटनाको जानकारी पाएपछी गोरखा सदरमुकाम आएका रुपाका बुवा रामबहादुर रानाले शबको सनाखत गरेका छन् । उदयपुर डुम्रे गाविस १ घर भएकी रुपा काठमाण्डौबाट गत १९ गते हिडेको बुवा रानालाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग राख्दै मृतकका बुवाले जिल्ला प्रहरी कार्यालयमा आजै उजुरी दर्ता गराउनुभएको छ । यसैबिच अनुसन्धानको क्रममा प्रहरीले काठमाण्डौमा एक महिलालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको र आजै शबको पोष्टमार्टम गरीने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरण दिवस

२२ जेठ २०६७
यस वर्षको अन्तराष्ट्रिय वाताबरण दिवसको अवसरमा भुसंरक्षण कार्यालय गोरखाको आयोजनामा गोरखाको ताङलिचोक माविमा आज वृक्षारोपण गरिएको छ । विद्यालय क्षेत्रभित्र लिच्ची बकाइनो लगायतका पाँच सय विरुवा रोपीएको स्थानीय श्याम प्रसाद लामीछानेले जानकारी दिनु भएको छ । स्थानिय वयोवृद्ध पटक बहादुर गुरुङले उद्घाटन गर्नु भएको वृक्षारेापण कार्यक्रममा जिल्ला भुसंरक्षण कार्यालय गोरखाका प्रमुख टंक नारायण श्रेष्ठ बाल विकास गोरखाका अधिकृत कृष्ण प्रसाद देवकोटा राजनीतिक दलका प्रतिनीधिहरु घैरुङ स्रोत केन्द्रका स्रोत व्यक्ति श्याम प्रसाद लामिछाने विद्यालयका प्रधानाध्यापक राम प्रसाद पन्त महादेव प्राविका प्रधानाध्यापक देउ बहादुर गुरुङ र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबिच अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमै गोरखाको सौरपानी वडा नम्बर ३ का स्थानीय बासिन्दाले गाँउको खानेपानीको मुहान बाटो र घरआँगनको सरसफाई गरेका छन् । स्वास्थ्यको लागि पानी र पद्धती विकास केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गाँउको आमा समुह बाल क्लब शिक्षक शिक्षिका र सर्वसाधारणको सहभागिता रहेको भुवाने भन्चोकटार खानेपानी आयोजनाका अध्यक्ष जगदिश पनेरुले बताउनु भएको छ । ।सरसफाइ पछि जलामुखी प्राविमा भएको कार्यक्रममा भुबाने भुन्चोकटार खानेपानी िसंचाइ आयोजनाका उपाध्यक्ष कमल पनेरु शिक्षक लोक बहादुर ढकाल शान्ति न्यौपानेउमाकान्त न्यौपाने लगायतले मन्क्तव्य राख्नु भएको थियो ।

रोट महोत्सव दशौं दिन

२२ जेठ २०६७
गोरखाको गोरखनाथ मन्दिरमा भैरहेको रोट महोत्सवको आज दशौ दिनसम्म लक्ष्य अनुरुप सवालाख रोट चढाइएको छ । गोरखनाथ प्रकट दिवशको अवसर पारेर बैशाख पुर्णिमा देखिसुरु भएको महोत्सवको २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गुरु गोरखनाथलाई खुशी बनाए सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वासमा देशका बिभिन्न जिल्लाबाट भक्तजनहरु रोट चढाउन आएका केन्द्रले जनाएको छ ।
चामलको पिठोमा चिनी नरिवल दालचिनी ल्वाङ सुकुमेल लगायतका ५२ थरी मसलाहरु मिलाएर बनाइने परिकारलाई रोट भनिन्छ । रोट गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार भएकाले उहाँलाई खुशी पार्न र देशमा आध्यात्मिक जागरण ल्याउन महोत्सव गरिएको शक्ति केन्द्रका साधक रामजी अर्यालले जानकारी दिनुभएको छ । महोत्सवमा रोट चढाउनुका साथै दैनिक भजन किर्तन र गुरु पुजन लगायतका कामहरु साचालन भइरहेका छन् । महोत्सवमा आउने भक्तजनको लागि आयोजकले खाने वस्ने ब्यवस्था मिलाएको छ भने स्वास्थ्य शिविर पनि साचालन गरेको छ । महोत्सवको अन्तिम दिन भोली विशेष हवन र पुजाआजा हुनेछ ।

आजदेखि सरसफाइ सप्ताह शुरु

२२ जेठ २०६७
आजदेखि ११ औं सरसफाइ सप्ताह शुरु भएको छ । आजदेखि देशभर चर्पी प्रयोग साबुनपानीले हात धुने लगायतका सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदैछ । सन् २००० देखि मनाउन थालिएको यो अभियानमा खानेपानी तथा ढलनिकास विभागको नेतृत्वमा वाटर एड लगायतका पानी र सरसफाइसम्बन्धी कार्यक्रमका संघसँस्थाहरुले सामुहिक रुपमा कार्यक्रम गर्दैछन् ।
११ औं सरसफाई सप्ताहका अवसरमा गोरखामा झाडु र् याली निकालिएको छ । गैर सरकारी संस्था महासंघ गोरखाको आयोजना एवम् उद्योग वाणिज्य संघ गोरखा र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको सहयोगमा निकालिएको र् यालीका क्रममा गोरखा नगरपालिकाका विभिन्न क्षेत्रको सरसफाई पनि गरिएको थियो । सदरमुकामको ठूलो आँगनबाट शुरु भएको र् याली वसपार्कशक्तिचोक हुँदै हरमटारीमा पुगेर सकिएको थियो । नगरवासीमा सरसफाई सम्बन्धी चेतना जगाउने उदेश्यले यस्तो कार्यक्रम गरिएको आयोजक गैर सरकारी संस्था महासंघका अध्यक्ष काजिराम रोकाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन हुने सभासद् ढकालको भनाई

२१ जेठ २०६७
नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले एक हप्ताभित्र राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभएको छ । साना दलहरुसँग विभिन्न चरणमा भएको छलफलबाट प्रमुख ३ दल सहमतिको नजिक पुगिसकेको दावी गर्दै उहाँले यस्तो विश्वास ब्यक्त गर्नुभएको हो ।
रेडियो गोरखाको संवादमूलक कार्यक्रम आजका कुरामा बोल्दै सभासद् ढकालले राजधानीमा दिनदिनै जसो भैरहेका औपचारिक र अनौपचारिक छलफल सकारात्मक दिशातिर अघि बढिरहेको जानकारी दिनुभयो । प्रमुख ३ दलविच भएको ३ बुँदे सहमति कार्यान्वयनका लागि दलहरु प्रतिवद्ध भएपनि कतिपय भाषागत विषयमा कुरा मिल्न नसकेको उहाँको भनाई छ । सेना समायोजनको खाकाराज्यपुनस्रंरचना र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा दलहरविच सैद्धान्तिक सहमति भैसकेको पनि सभासद् ढकालले जानकारी दिनुभयो । संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुको सकि्रयताले गतिरोध अन्त्यका लागि सार्थक नतिजा निकाल्ने उहाँको विश्वास छ । दलहरुविच सहमतिको वातावरण निर्माणका लागि पछिल्लो समयमा देखाएको सकि्रयताले ठूला दलहरुलाई दवाव पुगिरहेको उहाँको भनाई छ ।
निर्धारित २ वर्षको अवधिमा संविधान बन्न नसक्नुमा प्रमुख दलहरु बढि जिम्मेवार रहेको भन्दै ढकालले थपिएको एक वर्षमा भने जसरी पनि संविधान बन्ने दावी गर्नुभयो । ठूला दलहरुविच सहमति बने अबको ८÷९ महिना भित्रै संविधान जारी गर्न सकिने उहाँले बताउनुभयो ।

शवको सनाखत

२१ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा फेला परेको युवतीको शवको सनाखत भएको छ । सो शव काठमाडौ महानगरपालीका वडा नम्बर ३ घर भएकी १८ वर्षीय रुपा आलेको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी बुधबार पोखरा जान भनि घरबाट निस्कीएको उनको पारीवारीक स्रोतले बताएको छ ।
यस्तै नवलपरासीको भारतीय गण्डक नहरमा डुवेर आज मध्यान्ह आमाछोरी वेपत्ता भएका छन् । जिल्लाको कुडिया ६ बुधरियामा नुहाउने क्रममा सोही ठाउका आमाछोरी वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा स्थानिय ५० वर्षिया धर्मीदेवि महतो र उनकी छोरी डम्वर कुमारी महतो रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।