१४ बैशाख २०६७
बैशाख पुर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसर पारेर यसवर्ष पनि गोरखामा जेठ १३ गते रोट महोत्सव सुरु हुने भएको छ । रोट महोत्सवमा ११ दिनसम्म गुरु गोरखनाथलाइ सवालाख रोट चढाउने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
विगत ६ वर्षदेखि निरन्तर हुदै आएको महोत्सवमा गुरु गोरखनाथलाई रोट चढाउने भजन किर्तन र पुजाआजा पनि गरिने केन्द्रका साधक किशोर अकेलाले जानकारी दिनुभएको छ । गहुँको पिठोमा बिभिन्न ५२ प्रकारको मसला प्रयोग गरेर बनाइएको परिकार रोट गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने परिकार भएकोले उहाँलाई खुशी पार्न रोट महोत्सव गर्दै आएको उहाँले बताउनुभयो । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा देशमा सुखशान्ति र अमन चयन स्थापना हुने भएकाले नियमित रुपमा रोट महोत्सव गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले रोट महोत्सव मार्फत गुरु गोरखनाथ र गोरखालाई संसारभर चिनारी गराई गोरखालाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्नुपर्ने जनाएको छ । ११ दिनसम्मको रोट महोत्सवमा सिद्धाश्रम शक्ति केन्द्रका १०० भन्दा बढी शाखाका साधक साधिकाका साथै देशका बिभिन्न ठाउँबाट एकलाख भन्दा बढी भक्तजनहरु गोरखा आउने आयोजकले दावी गरेको छ । मुलुक एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले गुरु गोरखनाथकै आशिर्वाद पाएर टुक्रे राज्यबाट विशाल नेपाल निर्माण गर्न सफल भएको भनाइ रहिआएको छ ।
केन्द्रले हिजो गोरखा सदरमुकाममा एक कार्यक्रम गरी रोट महोत्सवबारे जानकारी गराएको हो । सो अवसरमा साधक रामजी अर्यालले रोट महोत्सव गोरखाको चिनारी र पर्यटन विकासका लागि समेत महत्वपुर्ण हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला न्यायधिश प्रभा वस्नेतले रोट महोत्सवको ब्यापक प्रचार गरी देशभरका भक्तजनहरुलाई गोरखा ल्याउनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment