Friday, May 7, 2010

गोरखामा छैठौं दिन शान्तिपुर्ण प्रदर्शन

२४ बैशाख २०६७
शान्ति संविधान र नयाँ राष्ट्रिय सरकारको माग गर्दै एकीकृत माओवादीले घोषणा गरेको आम हड्तालको छैठौ दिन आज पनि गोरखामा माओवादी कार्यकर्ताले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । विहानदेखि लोकतान्त्रिक चोकमा नाचगान र वाजागाजा साथ बसेका कार्यकर्ताहरुले दिउँसो दुइबजेबाट प्रदर्शन सुरु गरेका थिए ।
हरेक दिन फरक फरक क्षेत्रमा प्रदर्शन गर्दै आएको माओवादीले आज लक्ष्मीबजारमा पुगेर कोणसभा गरेको छ । लक्ष्मीबजारको सभामा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष अमृत वाग्ले र एकीकृत माओवादी जिल्ला सदस्य खोपबहादुर कंडेलले मन्तब्य राख्नुभएको थियो ।
आजको प्रदर्शनमा एकीकृत माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालको कार्टुन प्रदर्शन र पुत्ला दहन गरेको छ । लक्ष्मीबजारमा कोणसभा गरी फर्केको टोलीले लोकतान्त्रिक चोकमा पनि कोणसभा गरेको छ । लोकतान्त्रिक चोकको सभालाई संबोधन गर्दै तमुवान राज्य समिति सदस्य तथा सभासद् अमर तमुले सरकारले आन्दोलन प्रतिकारको नाममा युथफोस्र र तरुण दल परिचालन गरेको भन्दै आन्दोलनकारीको धैर्यता टुटेको दावी गर्नुभयो । वार्तावाट समस्या समाधान गर्नुको साटो सरकार आन्दोलन दवाउन लागेको भन्दै उहाँले आन्दोलनकारीले धैर्य गर्न नसक्ने बताउनुभएको छ ।
आफुहरुले १८ गतेको प्रदर्शनपछि राजनीतिक समाधान होस् भन्ने चाहेपनि सरकारले वेवास्ता गरेकाले आमहड्ताल जारी राख्न बाध्य भएको दावी गर्नुभयो । सो कार्यक्रममा अखिल नेपाल महिला संघकी शोभा लामिछानेले पनि संबोधन गर्नुभएको थियो । आजको प्रदर्शनमा पनि माओवादीले पाचैवाजा समावेश गरेको थियो भने वाइसीएलले लाठी लिएका थिए । आजको प्रदर्शनमा अघिल्ला दिनमा भन्दा बढी सहभागीता रहेको थियो ।

No comments: