१७ जेठ २०६७
आर्थिक वर्ष सकिन साँढे एक महिना बाँकी रहदा जिल्ला विकास समिति गोरखामा योजना सम्झौता गर्न आउने उपभोक्ता समितिको भीड बढेको छ । जेठ लागेपछि दैनिक १५ वटा उपभोक्ता समिति योजना सम्झौता गर्न आएका जिल्ला विकास समितिका योजना शाखाका विष्णु घिमिरेले जानकारी दिनुभएको छ । जिल्ला विकास समितिमा आउने वजेट सबै दलको सहमतिमा योजना छनोट गरेपछि मात्र सम्झौता गनुपर्ने भएकाले अहिले सम्झौता गर्नेको संख्या बढेको हो । यसअघि बैशाख महिनामा दैनिक ८ वटाको संख्यामा योजना सम्झौता हुने गरेको थियो ।
आर्थिक वर्षको सात महिनासम्म कुनैपनि योजनाको छनोट र बजेट बाँडफाँड हुन नसकेको जिविसमा फागुन अन्तिमबाट मात्रै योजना सम्झौता हुन थालेको हो । फागुनको दोश्रो सातादेखि बिभिन्न समयमा तीनपटक वसेको जिल्लाका तीन राजनीतिक दलको बैठकले योजना छनोट गरेको थियो । योजना छनोटपछि संंबन्धित ठाउँका उपभोक्ताहरुलाई सम्झौताका लागि पत्राचार गरीएको र उनीहरु समिति बनाइ आउँदा ढिलो भएको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
योजना छनोटपछि प्राविधिकले लगत स्टिमेट निकाल्नुपर्ने र उपभोक्ताहरुले समिति गठन गरी अनुकुल मिलाएर सम्झौता गर्न आउनुपर्ने भएकाले आर्थिक वर्षको समाप्तिको समयमा भीड लाग्ने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
कृषि सडक खानेपानी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम जिविस अनुदान उपेक्षित उत्पीडित दलित उत्थान कार्यक्रम शिर्षकका बजेटहरु अहिले सम्झौता भइरहेका छन् । जसमा कृषि सडक शिर्षकमा ३० लाख सम्मको योजना पनि हालै सम्झौता भएको छ । हाल सम्झौता हुनेमा धेरैजसो ८ देखि १० लाख सम्मका योजनाहरु छन् । डेढमहिनामा खर्च गरिसक्नुपर्ने सो रकम सदुपयोग हुन नसक्ने कतिपयको भनाइ छ ।
तर जिविसले भने योजना कार्यान्वयनका लागि बाँकी समय पर्याप्त रहेको दावी गरेको छ । धेरैजसो खानेपानी र सडकका योजनाहरु रहेकाले त्यस्ता योजनाहरु समयमा नै सम्पन्न हुने स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । उपभोक्ता समितिमा विवाद नभएर काम सुचारु हुन पाए निर्धारित मितिमा योजना सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment