Monday, June 7, 2010

गोरखा बजार दुगन्धित बन्दै

२४ जेठ २०६७
गोरखा सदरमुकाममा पाँचदिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्न थालेको छ । फोहोर उठ्न छाडेपछि सदरमुकामको हरमटारी शक्तिचोक वसपार्क ठुलोआँगन लगायतका ठाउँका सडकमा फोहोर थुपि्रन थालेका छन् । सडक छेउमा थुपारिएको फोहोर गन्हाउदा बटुवाहरु समस्यामा परेका छन् ।
गोरखा नगरपालिकाले हरेक दिन उठाउदै आएको फोहोर पाँचदिनदेखि उठाउन छाडेपछि सडकमा फोहोर थुपि्रन थालेको हो । नगरपालिका ८ को जुगेपानीमा फाल्दै आएको फोहोर स्थानीय वासिन्दाको अबरोधका कारण पाँचदिनदेखि उठ्न नसकेको हो । स्थानीय वासिन्दाले सडक फराकिलो बनाउनुपर्ने डम्पिङ साइट ब्यवस्थित गर्नुपर्ने लगायतका माग राख्दै जेठ २० गतेदेखि फोहोर फाल्न रोक लगाएका थिए ।
फोहोर फाल्ने विषयमा स्थानीय वान्दिासंग कुरा नमिलेकाले फोहोर उठाउन नसकिएको कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले बताउनुभयो । स्थानीय वासिन्दासंग भोली विहान छलफल गरी फोहोर उठाउने विषयमा कुरा मिलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभएको छ । स्थानीय वासिन्दाले धेरै रकमको योजना माग गरेपनि नगरपालिकासंग अहिले खर्च गर्नका लागि २ लाख रुपियाँ मात्र वजेट छ ।
फोहोर तत्काल उठाउन स्थानीय वासिन्दालाई सहमत गराउन वजेट थपको लागि राजनीतिक दलको संयन्त्रमा पनि छलफल गर्ने कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । उहाँले राजनीतिक दल सहमत भएमा स्थानीय वासिन्दालाई चित्त बुझाइ तत्काल फोहोर फाल्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । नगरपालिकाले फोहोर ब्यवस्थापनलाई दिर्घकालीन रुपमा समाधान गर्न नयाँ डम्पिङ साइट निर्माणको जरुरी भएपनि तत्काललाई सोही ठाउँमा नै फाल्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।
उता स्थानीय वासिन्दाले भने माग पुरा नगरेसम्म फोहोर फाल्न नदिने बताएका छन् । नगरपालिकाले आफुहरुको माग बमोजिमको काम गरेको अवस्थामा मात्र फोहोर फाल्न दिने एकीकृत माओवादीका तर्फबाट वडा संयन्त्र सदस्य अमृत केसीले बताउनुभयो ।

No comments: