Sunday, June 6, 2010

सकियो सातौ रोट महोत्सव

२३ जेठ २०६७
गोरखनाथ प्रकट दिवश अर्थात वैशाख पुर्णिमाको दिनदेखि गोरखाको गोरखनाथ मन्दिरमा सुरु भएको सातौ रोट महोत्सव आज सकिएको छ । एघार दिनको महोत्सपवमा गुरु गोरखनाथलाई सवालाख रोट चढाएपछि आज महोत्सव सकिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवको अन्तिम दिन मन्दिरका तीनजना ब्राम्हण पुजारीले विशेष मन्त्रले पुजा गरेपछि औपचारिक समापन गर्ने कार्यक्रम छ ।
चामलको पिठोमा चिनी नरिवल ल्वाङ सुकुमेल दालचिनी लगायतका ५२ थरी मसला मिलाएर घिउमा पकाएको परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई बढी मनपर्ने परिकार रोट भएकाले उहुलाई खुशी बनाउन सवालाख रोट चढाएको शक्ति केन्द्रका सावरपन्थी राम्जी अर्यालले जानकारी दिनुभएको छ ।
महोत्सव अबधिभर गुरु गोरखनाथलाई रोट चढाउन काठमाडौ भक्तपुर ललितपुर सिन्धुपाल्चो तनहँुँ कास्की लमजुङ चितवन लगायतका जिल्लाबाट भक्तजनहरु गोरखा आएका थिए । गरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि कायम हुने विश्वासमा महोत्सव गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको ११ दिनमा २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी दैनिक दुइहजार भक्तजनहरु आएपनि गएको शनिवार भक्तजनहरुको अत्याधिक सहभागीता रहेको थियो ।

No comments: