Friday, June 11, 2010

इन्द्रकन्या माविमा थप चारजना छात्रा विरामी

२८ जेठ २०६७
गोरखाको आरुआर्बाङ्गको इन्द्रकन्या माध्यमिक विद्यालयमा आज थप चारजना छात्रा विरामी परेका छन् । विद्यालयमा पढाइ भइरहेको समयमा एक्कासी हास्ने चिच्याउने साथिहरुको किताब कापी च्यात्ने शिक्षकहरुलाई गाली गर्ने जस्ता लक्षण देखिने रोगबाट आजसम्म २० भन्दाबढी छात्रा विरामी परिसकेका घटनास्थलमा पुग्नुभएका हाम्राम सहकर्मी किरण लोहनीले जानकारी दिनुभएको छ ।
विरामी भएका छात्राहरुलाई आज आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका जनस्वाथ्य निरीक्षक कृष्णबहादुर श्रेष्ठ सहितको टोलीले उपचार गरेको छ । उहाँले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया नै भएको बताउनुभएको छ । श्रेष्ठले विरामी विद्यार्थीहरुलाई मानसिक समस्या पर्ने खालको गतिविधि नगर्न र उपयुक्त वातावरण तयार पार्न अभिभावक र शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यालयमा उपचार गरेर फर्केका केही छात्रा घरमा पुगेपछि पनि समस्या दोहोरिएको अभिभावकले बताएका छन् ।
विद्यालय आउने छात्राहरुमा समस्या देखिन थालेपछि अभिभावकहरु पनि आतंकित भएका छन् । एकैघरका दुई भन्दा बढी छात्राहरु समेत विरामी परेका छन् । विद्यालयमा उपचारको प्रयास भएपनि अभिभावकहरुले घरमा धामीझाँक्री समेत लाउन थालेका छन् । अभिभावकहरुको फरक फरक धारणाले पठन पाठनमा समस्या भएको निमित्त प्रधानाध्यापक जीवन लामिछानेले बताउनुभएको छ । संगैका साथिहरु विरामी परेपछि विद्यालयका अन्य छात्राहरु पनि डराएर विद्यालय आउन छाडेका छन् । विद्यालयले उपचारको ब्यवस्था मिलाउने प्रयास गरेकाले सबै विद्यार्थीहरु नडराई विद्यालय आउन पनि निमित्त प्रधानाध्यापक लामिछानेले आग्रह गर्नुभएको छ ।
यसै विषयमा थप जानकारीका लागि सोही विद्यालयमा पुग्नुभएका सहकर्मी किरण लोहनी टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।

No comments: