१० बैशाख २०६७
यसवर्षको हावाहुरी र असिनाले गोरखाको कृषि क्षेत्रमा ५ करोड ३९ लाख रुपियाँको क्षति पुर् याएको छ । जिल्ला कृषि विकास कार्यालय गोरखाले जिल्लाभरका ७ सेवा केन्द्रंबाट संकलन गरेको क्षतिको विवरण अनुसार सुन्तला तरकारी आँप लिच्ची केरा र मकैखेतीमा गरी सो मात्राको क्षति भएको जनाएको छ । बैशाख ५ गतेदेखि ९ गतेसम्मको हावाहुरी र असिनाले तरकारी खेतीमा सबैभन्दा बढी ३ करोड रुपियाँको क्षति पुर् याएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो ।
असिनाले जिल्लाको घ्याल्चोक गोरखा नगरपालिका ताक्लुङ देउराली लगायतका गाविसका काक्रो लौका घिरौला गोलभेडा लगायतको तरकारी खेती नष्ट पारेको उहाँले बताउनुभयो ।
असिना र हावाहुरीले सुन्तलाको कुल उत्पादनको २५ प्रतिशत नोक्शान गरेको कार्यालयले जनाएको छ । जिल्लाको मनकामना ताक्लुङ मिरकोट हर्मी बक्राङ घैरुङ गाविसका किसानहरुले सुन्तला खेतीबाट १ करोड ५० लाखको नोक्शानी बेहोरेका कृषि कार्यालयले स्पष्ट पारेको छ । त्यसैगरी आँप खेतीमा २५ लाख केरामा ३० लाख मकैमा २५ लाख र लिच्चीमा ९ लाखको क्षति भएको तथ्याङ्क कृषि कार्यालयले निकालेको छ । असिनाबाट जिल्लाको बोर्लाङ्ग मनकामना आँपपीपल धुवाँकोट च्याङ्ली हर्मी खोप्लाङका किसानहरुले पनि क्षति बेहोर्नुपरेको छ ।
असिनाका कारण जिल्लाका कुल २० हजार किसान परिवारले क्षति बेहोरेको कार्यालयले जनाएको छ । जिल्लाको कुल ६ कृषि सेवा केन्द्र र ७ उपकेन्द्रमध्ये सबैले तथ्याङ्क नपठाएकोले क्षति लागत अझै बढ्ने अनुमान रहेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
No comments:
Post a Comment