Thursday, April 22, 2010

गोरखा सदरमुकाममा खानेपानीको चरम संकट

९ बैशाख २०६७
गोरखा सदरमुकाममा खानेपानीको चरम संकट देखापरेको छ । सदरमुकामका परम्परागत पानीको श्रोतहरु सुक्दै गएको र खानेपानी आयोजनाहरुबाट पनि माग अनुसार पानी आपुर्ति हुन नसक्दा खानेपानीको संकट भएको हो । सदरमुकामको बराह हरमटारी वसपार्क पाटेचौर ठुलोआँगन धारापानी रोहटेपानी लगायतका क्षेत्रमा माग अनुसार पानी उपलब्ध हुन नसक्दा उपभोक्ताहरु हैरान भएका छन् ।
परम्परागत ढुङ्गेधाराहरु वोसेपानी बराहधारा पदेली तिनधारा रोहटेपानीधारा आदिमा पानी दोब्बर सानो हुदा घण्टौ लाइन बसेर पानी भर्नुपर्ने उपभोक्ताहरुले गुनासो गरेका छन् । सदरमुकाममा खानेपानीको आपुर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना र कर्णेखोला आयोजनाले माग अनुसार पानी आपुर्ति गर्न नसकेपछि त्यसको चापसमेत ढुङ्गेधाराहरुमा परेको छ ।

वर्षायाममा दैनिक ६ लाख लिटर खानेपानी आपुर्ति गर्ने साना सहरी खानेपानी आयोजनाले सुख्खायामका कारण दैनिक करिब २ लाख लिटर आपुर्ति गर्दै आएको छ । दैनिक उपभोक्ताको घरमा पानी आपुर्ति गर्ने आयोजनाले आजभोली २ दिन विराएर पानी छाड्दै आएको छ । मुहानमा पानी घटेकाले हिउँदभरि उपभोक्ताले चाहेजति पानी दिन नसक्ने आयोजनाले जनाएको छ ।
आयोजनाले मुहानको पानी विद्युत भोल्टेजका कारण दिउँसोमा तान्न नसकेकाले थोरैमात्र आपुर्ति गर्नुपरेको स्पष्ट पारेको छ । सदरमुकामको बराह हरमटारी वसपार्क ठुलोआँगन पाटेचौर नयाँबजार लगायतको क्षेत्रमा पानी वितरण गर्दै आएको आयोजनाले मुहानबाट सदरमुकामसम्म पानी ल्याउन ३३ केभीए क्षमताको विद्युत मोटर चलाउदै आएको छ ।
विहान र दिउँसोमा विद्युत भोल्टेज नपुग्ने हुनाले मुहानको पानी सदरमुकाम ल्याउन राती मात्र मोटर चलाउदै आएको आयोजनाले जनाएको छ । विद्युत प्राधिकरणले दिउँसोमा भोल्टेज पुग्ने ब्यवस्था मिलाएमा उपभोक्ताले चाहेअनुसार आपुर्ति गर्ने अध्यक्ष बद्री बहादुर मास्केले बताउनुभयो ।
मुहानमा पर्याप्त पानी हुदा पनि मोटर चलाउन नसक्दा दिनभरिको पानी खेर गइरहेको भन्दै आयोजनाले खेर गएको पानी संकलन गरी सदरमुकाम ल्याउने ब्यवस्था मिलाउन सके खानेपानी अभाव नहुने बताएको छ ।
उता विद्युत प्राधिकरणले गोरखा शाखाले भने आँबुखैरेनीस्थित ३३ केभीए क्षमताको सब स्टेशनबाट जिल्लाभरि विद्युत वितरण गर्नुपर्ने भएकाले भोल्टेज समस्या देखिएको जनाएको छ । एउटै सब स्टेशनबाट धेरैतिर वितरण गर्नुपर्ने भएकाले तत्काल भोल्टेज समस्या समाधान गर्न नसकिने कार्यालय प्रमुख दिपेश खनालले बताउनुभयो ।
गोरखा सदरमुकाममा नै निर्माण भएको सब स्टेशन साचालनमा आएपछि मात्र भोल्टेज समस्या समाधान हुने उहाँले स्पष्ट पार्नुभयो । प्राधिकरणले सदरमुकामको सब स्टेशन कहिलेदेखि साचालनमा आउने भन्नेबारे स्पष्ट पारेको छैन । उता नगरपालिकाको वडा नंबर १ २ र ४ मा खानेपानी वितरण गर्दै आएको कर्णेखोला खानेपानी आयोजनाले पनि मुहानमा पानी नभएकाले एक दिन विराएर पानी आपुर्ति गर्न थालेको छ ।
मुहानमा पानी सानो भएकाले सुख्खायामममा पहिलेजस्तो दिनदिनै पानी आपुर्ति गर्न नसकिने कर्णेखोला खानेपानी आयोजनाका कार्यालय सचिव गणेश आचार्यले जानकारी दिनुभयो । आयोजनाको उपभोक्ताहरुबाट दैनिक १ लाख लिटर पानी माग भएको र ६० हजार लिटर मात्र आपुर्ति गर्न सकेको उहाँले स्पष्ट पार्नुभयो । हिउँदयाममा ग्राहकहरुबाट पानीको धेरै माग हुने तर आपुर्ति कम हुदा उपभोक्ताहरुले दैनिक घरेलु प्रयोगमा समेत समस्या भोग्नुपरेको छ । खानेपानी आयोजनाले घरघरमा दिदै आएको पानी दिनदिनै आउन छाडेपछि उपभोक्ताहरु परम्परागत श्रोतमा भर पर्नुपरेको छ । जसले गर्दा ढुङ्गेधाराहरुमा रातको समयमा पनि भीड बढेको छ ।

No comments: