२ बैशाख २०६७
गोरखाको सिर्दिवास गाविसको भन्सार कार्यालय १२ वर्षदेखि बन्द हुदा बहुमुल्य जडीबुटी विना राजस्व चोरी निकासी भइरहेको छ । भन्सार कार्यालय नहुदा स्वीकृत तथा प्रतिबन्धित जडिबुटीहरु राजस्व नतिरी तिब्बत र भारततर्फ निकासी भएको स्थानीय वासिन्दाले बताएका छन् । उनीहरुले संकलन तथा छुटपुर्जी नलिई यासा्रगुम्बा जटामसी निरमसी चिराइतो बिख तथा संकलन र बेचबिखनमा प्रतिबन्ध लगाइएको कस्तुरी ओतको छाला बाघको छाला सतुवा कुड्की पाँचऔले लगायतका जडीबुटी अबैध रुपमा लैजाने स्थानीयले दुखेसो गरेका छन् ।
अत्याधिक जडिबुटी पाइने उत्तरी गोरखाबाट एक सिजनमा १० देखि १५ क्वीण्टल चिराइतो दुई क्वीण्टल पाँचऔँले चार क्वीण्टल निरमसी ३० क्वीण्टल बिख १५÷२० क्वीण्टल कुड्की सोही परिमाणको बनलसुन १५ क्वीण्टल जटामसी र एक क्वीण्टल यासा्रगुम्बा निकासी भएको सिर्दिवासका बलबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
गोरखाको सिर्दिबास ल्हो प्रोक चुाचेत बिही सामागाउँ र छेकम्पार लगायतका गाविसबाट राजस्व छली वर्षेनी ५० करोड भन्दा बढी मूल्यपर्ने जडिबुटी निकासी हुने ब्यवसायी लालबहादुर गुरुङ्गले बताउनुभयो । २०५४ सालदेखि बन्द रहेको यहाँको लार्के भन्सार अझै खुल्न सकेको छैन । कार्यालयमा दरबन्दी कायम गरी कर्मचारीहरु भने जिल्ला प्रशासन कोष तथा लेखा नियन्त्रण कार्यालय अरु भन्सार कार्यालय तथा अर्थमन्त्रालयमा काम गर्दै आएका छन् । कर्मचारी अभावमा लार्केभन्सार बन्द भएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।
देशभित्र जाने जडीबुटीको राजस्व स्थानीय निकायले उठाउने र देश बाहिर जाने जडीबुटीको राजस्व संकलन भन्सार कार्यालयले गर्ने कानुनी ब्यवस्था छ । स्थानीय स्वायत्त शासन ऐन अनुसार ती जडिबुटी संकलन गर्ने पुर्जी दिन निकासी गरेवापत राजस्व उठाउन गाविसलाई जिम्मा दिएपनि सचिव गाउँमा नहुदा राजस्व उठ्न नसकेको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । यस क्षेत्रबाट २०५५ सालभन्दा पहिले ३० लाख रुपियाँ भन्दा बढी आम्दानी हुने सो भन्सार कार्यालयमा त्यसपछि एकलाख रुपियाँ मात्र राजस्व उठेको जिल्ला विकास समितिको तथ्याङ्कले देखाएको छ ।
No comments:
Post a Comment