Sunday, May 2, 2010

शिक्षिकाको रहस्यमय मृत्युको घटनाबारेको विस्तृत विवरण आज आउने

२० बैशाख २०६७
गोरखाको लाप्राक गाविसको मणिकामदेवी माविकी शिक्षिका विनु ढकालको रहस्यमय मृत्यु भएको घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ऋषिकेश पाण्डे सहितको प्रहरी टोली हिजो घटनास्थल पुगेको छ । घटनास्थल सदरमुकामदेखि दुईदिनको पैदल दुरीमा पर्ने भएकाले प्रहरी टोली आजमात्र सदरमुकाम आइपुग्ने भएको छ । घटनास्थलबाट फर्केको टोली हिजो वारपाक आइ वसेको छ । टोली आज सदरमुकाम आएपछि मात्र घटनाको सम्पुर्ण जानकारी पाउन सकिने प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ ।
गएको आइतवार आफ्नो घर पन्दु्रङबाट लाप्राक तर्फ जानुभएका ढकालको अस्ती लाप्राक गाविसकै गोप्सीडाडाँ भन्ने ठाउँमा शब फेला परेको हो । स्थानीय गोठालाहरुले ढुङ्गाले चेपेर छाडेको अवस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अपाङ्ग कोटामा २ वर्षदेखि सो विद्यालयको प्राथमिक तहमा पढाउदै आउनुभएकी शिक्षिका नयाँ शैक्षिक सत्रको पढाइ सुचारु गराउन विद्यालय तर्फ जानुभएको थियो । आइतवार घरबाट आफ्नी आमासंगै चनौटेसम्म पुग्नुभएकी शिक्षिका ढकाल एक्कासी मृत अवस्थामा फेला परेपछि उहाँको मृत्यु रहस्यमय भएको सोही विद्यालयका शिक्षक कृष्ण न्यौपानेले बताउनुभयो ।

No comments: