Sunday, May 2, 2010

अनिश्चितकालिन आम हड्तालका कारण जनजीवन प्रभावित, क्रान्तिकारी विद्यार्थीको अवरोधका कारण १२ कक्षाको परिक्षा स्थगित

१९ बैशाख २०६७
एकिकृत माओवादीले घोषणा गरेको अनिश्चितकालिन आम हड्तालका कारण आज विहानैदेखि गोरखाको जनजीवन प्रभावित भएको छ । विहानैदेखि चल्ने लामा तथा छोटा दुरीका सवारी साधनहरु आज चल्न सकेका छैनन् भने वजार र पसल पनि बन्द छन् । विहानैदेखि चहलपहल सुरु हुने गोरखा सदरमुकाम सुनसान झै बनेको छ ।
आमहड्तालका क्रममा खानेपानीका ट्याङकरहरु दुध बोक्ने सवारी साधन साचार माध्याम र कुटनीतिक नियोगका सवारी साधन फोहोर फाल्ने सवारी साधनका साथै एम्बुलेन्स र शबबाहन भने साचालनमा बाधा नपार्ने एकिकृत माओवादीले जनाएको छ ।
हड्तालका क्रममा औषधी पसल बन्द नगर्ने र हरेक साँझ ६ वजेदेखि ८ वजेसम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि वजार मात्र खुल्ला गर्ने जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभएको छ ।
बन्दका कारण शिक्षण संस्थ्ााहरु पनि बन्द भएका छन् । शिक्षण संस्थ्ााहरु बन्द हुदा विद्यार्थीहरु मर्कामा परेका छन् । आम हड्तालकै कारण गोरखा सदरमुकाम लगायत जिल्लाका प्रमुख ब्यापारिक केन्द्र बन्द भएको छ ।
यसैविच एकीकृत नेकपा माओवादीको अड्ताल र क्रान्तिकारी विद्यार्थीको अवरोधका कारण १२ कक्षाको परिक्षा स्थगित भएको छ । कति जिल्लामा परिक्षा स्थगित भइसकेको छ भने केही ठाउँमा अनिश्चत बनेको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठीमिले अहिले सम्म पनि परिक्षा स्थगन भएको सूचना जारी नगरेकाले विद्यार्थीहरु अन्यौलमा परेका छन् । बिहानैदेखि हिडेर परिक्षाकेन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा रद्द भएको जानकारी गराइएपछि घर फर्किनु परेको थियो ।
विद्यार्थीहरुको अवरोधका कारण गोरखामा कक्षा १२ को वाल विकास सिकाई र राजनीतिक शास्त्रको आजको परीक्षा अवरुद्ध भएको छ । परिक्षाको समय अगाडि नै परिक्षा केन्द्रहरुमा विद्यार्थी पुगिसकेको भएपनि माओवादिको अवरोधका कारण परिक्षा हुन नसकेको केन्द्रहरुले जनाएका छन् । केही केन्द्रमा भने प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भैसकेपछि विद्यार्थी परीक्षा हलबाट बाहिरिएका थिए । कक्षा १२ को परीक्षाका लागि गोरखामा शक्ति उच्च माविद्रब्यशाह क्याम्पसभवानी बहुमुखी क्याम्पस ठाँटीपोखरी परोपकार आदर्श क्याम्पस जौवारी र दुल्ललभ उच्च मावि घ्याम्पेशाल गरि ५ वटा केन्द्र निर्धारण गरिएको छ । अखिल क्रान्तिकारी गोरखाका कोषाध्यक्ष अमृत वाग्लेले भने बन्दका बेला पनि परीक्षा साचालन गरेको भन्दै परीक्षार्थी आफैले परीक्षा बहिष्कार गरेको दावी गर्नुभएको छ । क्रान्तिकारीका महासचीव हिमाल शर्माले भने आफ्नो संगठनले आज देशभरी परिक्षा स्थगन गराएको बताउनुभएको छ ।
उता लमजुङमा ५ वटा परीक्षा केन्द्रमा परीक्षा स्थगित भएको छ । एउटा केन्द्रमा भने संचालन भएको छ । एकीकृत माओवादीको धम्कीका कारण सदरमुकाम वेसीशहरको जनविकास उच्च मावि र मस्र्याङ्दी क्याम्पस भोटेओडारस्थित भक्ति नमुना उच्च मावि र सुन्दरबजारस्थित आदर्श बाल उच्च मावि केन्द्रमा परीक्षा स्थगित भएको हो ।
परीक्षा बन्द नगरे परीक्षा केन्द्र तोडफोड र जलाउने चेतावनी दिएपछि असुरक्षाका कारण परीक्षा स्थगित गर्नुपरेको परीक्षा केन्द्रहरुले जनाएको छ । यता प्रहरीले भक्ति नमुना उच्च मावि भोटेओडार केन्द्रका दुईजना परीक्षार्थीलाई पक्रेको छ । परीक्षा केन्द्रभित्र छिरेका अखिल क्रान्तिकारीका परीक्षार्थीद्वय परेवाडाँडाका राजेन्द्र श्रेष्ठ र दुराडाँडाका अशोक घिमिरेलाई प्रश्नपत्र च्यातेर फ्याँकेको भन्दै प्रहरीले पक्रेको हो ।
मनाङमा पनि प्लस टुको परीक्षा स्थगित भएको छ । सदरमुकाम चामेस्थित लोकपि्रय उच्च माविमा रहेको एकमात्र परीक्षा केन्द्रमा एकीकृत माओवादीको अवरोधका कारण परीक्षा स्थगित भएको हो ।

उता परीक्षा अबरोध गर्न खोज्ने क्रममा बिद्यार्थी र प्रहरी बिच चितवनको भरतपुरमा झडप हुँदा एक जना पत्रकार र प्रहरी सहित गरि १५ जना घाइते भएका छन् । प्रहरी र बिद्यार्थी बिच भएको झडपमा परि आक्रमण साप्ताहिकका सम्पादक केपि किरण शर्मा १ प्रहरी जवान सहित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु जनक श्रेष्ठ अनुज भट्टराई र शिब अधिकारी घाइते भएका छन् । कुल ५४ वटा उच्च मावि भएको चितवनमा २१ वटा परीक्षा केन्द्र रहेको छ ।
त्यस्तै बागलुङको विद्यामन्दिर उच्च मावि आर्दश विद्यामन्दिर र अमृत आर्दश परिक्षा केन्द्रमा माओवादी कार्यकर्ता पुगेर प्रश्नपत्र खोसेर परिक्षा स्गगित गर्न दवाव दिएपछि परिक्षा स्थगित भएको हो । ग्रामीण क्षेत्रका केही विद्यालयमा भने परिक्षा संचालन भएको छ । पर्वतको शिवालय परिक्षा केन्द्रमा भने माओवादी सभाषद गुणखर बस्याल आफै पुगेर परिक्षा स्गगित गराएका छन् । अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले आज आफुहरुले देशभरीका परिक्षा स्थगन गराएको बताउनुभयो ।
त्यस्तै गुल्मीका अधिकांश परीक्षा केन्द्रहरुमा पनि परिक्षा स्थगित भएको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताले गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखि क्याम्पस सिद्धवाबा उच्च मावि र महेन्द्र उच्च मावि केन्द्रमा कक्षा १२ को परीक्षा स्थगित गराएको र प्रश्नपत्र बाहिरिएका कारण जिल्लाका अधिकांश परीक्षा केन्द्रमा परीक्षा स्थगीत भएको हो । आम हड्तालको समयमा परीक्षा साचालन गरेको भन्दै अखिल क्रान्तिकारी र वाईसिएल कार्यकर्ताले नारावाजी गर्दै क्याम्पसमा पुगरे परीक्षा स्थगित गराएका थिए । नवलपरासीको १४ वटा परिक्षा केन्द्रबाट संच्ालित १२ कक्षाको परिक्षा स्थगित भएको छ । परिक्षा चलिरहेको बेला क्रान्तिकारीका बिद्यार्थीले केन्द्रमा आएर परिक्षा संचालन गरे तोडफोड गर्ने चेतावनी दिए पछि ४५ मीनेट संचालन भएको परिक्षा स्थगित भएको हो ।
एकीकृत नेकपा माओवादीेको अनिश्चितकालिन बन्दका कारण स्याङ्जामा पनि कक्षा १२ को परीक्षा स्थगित भएको छ । माओवादीका कार्यकर्ताहरुको अवरोधका कारण परीक्षा स्थगित गरिएको केन्द्राध्यक्षहरुले वताएका छन् । स्याङ्जा भरिका कूल १३ ओटा परीक्षा केन्द्रहरुमा परीक्षा शुरु हुनु अगाबै परीक्षा स्थगित गरिएको हो ।

No comments: