Tuesday, May 18, 2010

युनिटी लाइफका सदस्यहरुले गोरखामा रकम फिर्ता माग

४ जेठ २०६७
युनिटी लाइफमा आवद्ध गोरखाका बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्न माग गरेका छन् । नेटवर्किङ्ग ब्यवसायका नाममा ठगी गरेको भन्दै सरकारले देशभरका कार्यालय बन्द गरि चलअचल सम्पत्तिमा रोक लगाएपछि गोरखाका वचतकर्ताहरुले पनि रकम फिर्ता गर्न माग गरेका हुन् । ५ वर्षअघिदेखि ब्यवसाय गर्दै आएपनि सरकारले अहिलेमात्रै कारवाही थाल्दा आफ्नो रकम डुब्न सक्ने भन्दै उनीहरु चिन्तित भएका छन् । युनिटीको सदरमुकामस्थित कार्यालय बन्द हुँदा पैसा फिर्ता गर्ने प्रकि्रया पनि अघि बढाउन नसकिएको गोरखा सदरमुकामका पीडित पुष्कल अर्यालले गुनासो गर्नुभएको छ । सरकारले पहिले देखिनै उसको कामको अनुगमन नगर्दा अहिलेको अवस्था आएको उहाँको भनाई छ । गोरखामा स्थायी ठेगाना कायम गरी ४ हजार ५ शय भन्दा बढी युनिटीको सदस्य बनेका छन् । जसबाट संस्थाले ६ करोड भन्दा बढी रकम संकलन गरेको छ ।
तर युनिटी लाइफ इन्टरनेशनल गोरखाका सचीव सरोज देवकोटाले भने तत्काल रकम फिर्ता गर्न नसकिने बताउनुभएको छ । सरकारले बैङ्क खाता र चलअचल सम्पत्ति रोक्का गरेकाले रकम फिर्ता गर्न नसकिने उहाँले बताउनुभयो । गोरखामा रहेका आफ्ना कुनै सदस्य पनि रकम फिर्ता गर्नका लागि आफूकहाँ नआएको उहाँले दावी गर्नुभएको छ । आफूहरु कामविशेषले गर्दा काठमाण्डौंमा रहेको र केही दिनमै फर्केर कार्यालय खोल्ने पनि उहाँले जानकारी दिनुभयो । कसैले रकम फिर्ता माग्न आए त्यसका लागि प्रकि्रया अघि बढाइने पनि उहाँले बताउनुभयो ।
यसैविच प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले युनिटीसँग सम्बन्धित गुनासो लिएर कोही पनि नआएको बताउनुभएको छ । गुनासो आएमा कानुनअनुसार कारवाही गर्न माथिल्लो निकायबाट निर्देशन आएको पनि उहाँले बताउनुभयो । रकम फिर्ता नगरे ठगी गरेको अभियोगमा कारवाही हुने पनि उहाँले जानकारी दिनुभएको छ । युनिटीको केन्द्रिय कार्यालयबाट गोरखास्थित कार्यालयको सुरक्षाका लागि आग्रह पनि प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो ।

No comments: