Wednesday, May 26, 2010

सातौ रोट महोत्सवका लागि भक्तजनहरु गोरखामा

१२ जेठ २०६७
बैशाख पर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसर पारेर भोलीदेखि गोरखामा सुरु हुने सातौ रोट महोत्सवका लागि आज बिभिन्न जिल्लाबाट भक्तजनहरु गोरखा आएका छन् । भोली विहानैदेखि सुरु हुने रोट महोत्सवको कार्यक्रममा सहभागी हुन सिद्धाश्रम शक्ति केन्द्रका बिभिन्न जिल्ला शाखाबाट साधक साधिकाहरु पनि गोरखा आउन थालेका साधक किशोर अकेलाले जानकारी दिनुभएको छ ।
केन्द्रले महोत्सवको समयमा आउने भक्तजनलाई ब्यवस्थित गर्न स्वागत आवास पानी दाउरा र खानाका लागि छुट्टाछुट्टै उपसमिति निर्माण गरेर तयारी थालेको छ । केन्द्रले आवासको लागि गोरखनाथ मन्दिर नजिकै रहेको आफ्नै भवनमा आश्रमको ब्यवस्थ्ाा गरेको छ भने सुपथ मुल्यमा खानाको ब्यवस्था समेत गर्ने जनाएको छ ।
महोत्सवको दिन भोली विहान सातवजे देखि सदरमुकामबाट शोभायात्रा सुरु गर्ने र गोरखनाथ मन्दिर पुगेपछि विशेष पुजापाठ गरी महोत्सवको विधिवत सुरुवात गर्ने तयारी केन्द्रले गरेको छ । विहान माटोको पुर्णकलश सहित १ सय ८ कन्या गुरु गोरखनाथ र निखिलेश्वरको रथयात्रा मन्दिरमा पुर् याएपछि मन्दिरका पुजारीले मन्त्र उच्चारण गरी रोट महोत्सवको औपचारिक सुरुवात गर्ने कार्यक्रम छ । रोट महोत्सवको सुरु गर्ने बेलामा गोरखनाथ आश्रम छेउमा राष्ट्रिय झण्डा र सिद्धाश्रम शक्ति केन्द्रको झण्डा सहितको २२ हातको लिङ्गो ठड्याउने प्रचलन समेत छ ।
गोरखालाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरी संसारभर चिनाउनका लागि महोत्सवको आयोजना गरिएको साधक अकेलाले स्पष्ट पार्नुभयो । चामलको पिठोमा चिनी र बिभिन्न किसिमका मसला मिसाएर घिउमा पकाएको बिशेष परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार रोट भएकोले उहाँलाई खुशी पार्न रोट महोत्सव गर्न लागिएको हो । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि प्राप्त हुने शिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
यसवर्षको सवालाख रोट महोत्सवमा ४० क्वीन्टल चामलको पिठो ५ क्वीन्टल चिनी १५ सय लिटर लिटर घिउ र रोटलाई आवश्यक पर्ने मसलाहरु खर्च हुने साधक अकेलाले बताउनुभयो । सबै ब्यवस्थाका लागि केन्द्रले ८ लाख रुपियाँ खर्च हुने अनुमान गरेको छ ।

No comments: