११ जेठ २०६७
बैशाख पर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसरमा गोरखाको गोरखनाथ मन्दिरमा हुने रोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि काठमाडौ लगायत अन्य जिल्लाका साधक साधिका तथा भक्तजनहरु गोरखा आउने क्रम सुरु भएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । केन्द्रले आवास पानी दाउरा स्वागत र खानाका लागि छुट्टाछुट्टै उपसमिति निर्माण गरेर तयारी थालेको साधक किशोर अकेलाले जानकारी दिनुभएको छ ।
केन्द्रले आवासको लागि गोरखनाथ मन्दिर नजिकै रहेको आफ्नै भवनमा आश्रमको ब्यवस्थ्ाा गरेको छ भने सुपथ मुल्यमा खानाको ब्यवस्था समेत गरेको छ । महोत्सवका लागि आज २० जना साधक साधिका गोरखा आइपुगेका छन् । काठमाडौ भक्तपुर ललितपुर चितवन दाङ लगायतका जिल्लाबाट भक्तजनहरु भोली गोरखा आउने कार्यक्रम रहेको साधक अकेलाले बताउनुभयो ।
बैशाख पुर्णिमाको दिन विहान सातवजे देखि सदरमुकामबाट शोभायात्रा सुरु गर्ने र गोरखनाथ मन्दिर पुगेपछि विशेष पुजापाठ गरी महोत्सवको विधिवत सुरुवात गर्ने तयारी केन्द्रले गरेको छ । विहान माटोको पुर्णकलश सहित १ सय ८ कन्या गुरु गोरखनाथ र निखिलेश्वरको रथयात्रा मन्दिरमा पुर् याएपछि मन्दिरका पुजारीले मन्त्र उच्चारण गरी रोट महोत्सवको औपचारिक सुरुवात गर्ने कार्यक्रम छ ।
गोरखामा धार्मिक पर्यटनको विकास गरी संसारभर चिनाउनका लागि महोत्सवको आयोजना गरिएको साधक किशोर अकेलाले बताउनुभयो । गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने बस्तु रोट भएकोले उहाँलाई खुशी पार्न रोट महोत्सव गर्न लागिएको हो । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि प्राप्त हुने शिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
यसवर्षको रोट महोत्सवमा गत वर्ष भन्दा कम भक्तजनहरु सहभागी हुने केन्द्रको अनुमान छ । मुलुकमा जारी राजनीतिक विषम परिस्थितिका कारण भक्तजन घट्ने साधक अकेलाले बताउनुभयो । महोत्सवका लागि ८ लाख रुपियाँ खर्च हुने केन्द्रले बताएको छ ।
No comments:
Post a Comment