Thursday, May 13, 2010

गोर्खामा गुणस्तहीन मलको विगविगी

३० वैशाख २०६७
गोरखामा रासायनिक मल अभाव भएको मौका छोपेर वजारमा गुणस्तरहिन मलको बिक्री हुन थालेको छ । जिल्लाका ठुला ब्यापारी र थोक विक्रेताले नारायणगढबाट गुणस्तरहिन मल ल्याइ सदरमुकाम र ग्रामीण भेगका किसानहरुलाई बेचेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज सदरमुकामको पसलहरुमा अनुगमन गर्दा डल्ला परेको गुणस्तरहिन मल बिक्री भएको पाइएको हो ।
किसानलाई मल चाहिएको बेला अभाव भएपछि ब्यापारीहरुले नारायणगढबाट ६ वर्षअघिको रासायनिक मल ल्याइ बिक्री गरेको पाइएको कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो । जिल्लामा पाइने मल अन्नवालीमा राख्न उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा बजारमा पाइएका मल गुणस्तरहीन भएकाले प्रयोग नगर्न किसानहरुलाई आग्रह समेत गर्नुभएको छ ।
अनुगमन टोलीले सदरमुकामको काजी श्रेष्ठको पसलबाट साँढे १६ क्वीन्टल सन्तमान श्रेष्ठको पसलबाट ६ क्वीन्टल मल वरामद गरेको छ । ती बाहेक गोरखामा ३०० बोरा मल भित्रिएको ब्यापारीहरुले बताएका छन् । अनुगमन टोलीले बजारका अन्य पसलहरुमा पनि छापा मारेको छ । ब्यापारीहरुले नारायणगढ वेलचोकको कृषि उपज विक्री केन्द्रबाट मल किनेको विल देखाएका छन् ।
सदरमुकाम बाहेक जिल्लाको घ्याम्पेशाल छेपेटार चोरकाटे देउराली लगायतका क्षेत्रमा पनि गुणस्तरहिन मल पुगिसकेको किसान महासंघ गोरखाले जनाएको छ । महासंघले किसानहरुलाई मल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । जिल्ला भित्रेका गुणस्तरहीन मल किसानसम्म पुग्न नदिने र थप भित्र्याउन नदिने प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।

No comments: