Thursday, May 20, 2010

आर्थिक वर्ष २०६७०६८ को गोरखा जिल्लाको बार्षिक बजेट सार्वजनिक

६ जेठ २०६७
जिल्ला विकास समिति गोरखाले आर्थिक वर्ष २०६७/०६८ को वार्षिक वजेट तथा नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले २ अर्ब ५९ करोड ९० लाख २१ हजारको वजेट सार्वजनिक गर्नुभएको हो । वजेटमा चालु खर्च तर्फ ९३ करोड २५ लाख ९६ हजार र पुँजीगत तर्फ १ अर्ब ६७ करोड ५२ लाख ९५ हजार रुपैया प्रस्ताव गरिएको छ । प्रस्तावित वजेट चालु आर्थिक वर्षको वजेटको तुलनामा ३१ करोड ३३ लाख ३१ हजारले बढी रहेको छ । दलहरुविचको विवादका कारण फागुन महिना भित्रै भैसक्नुपर्ने परिषद हुन नसकेपछि स्थानीय स्वायत्त शासन ऐनको अधिकार प्रयोग गरी स्थानीय विकास अधिकारीले वजेट सार्वजनिक गर्नुभएको हो ।
जिल्ला न्यायधिश प्रभा वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुले भने जिल्ला परिषद ढिलो हुनुमा एक अर्कालाई दोषी देखाएका छन् । तर उनीहरुले वजेट कर्यान्वयनका लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् । एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य लेखबहादुर थापाले काँग्रेस र नेकपा एमालेको यथास्थितीवादी सोचका कारण जिल्लाको विकास निर्माणकार्य अघि बढ्न नसकेको बताउनुभयो । विकास निर्माणका सवालमा आफूहरु अरु दलभन्दा एक कदम अघि रहेका उहाँको दावी थियो । नेपाली काँग्रेसका जिल्ला सचीव किरणबाबु श्रेष्ठले जिल्लाको विकास निर्माणलाई देशको केन्द्रिय राजनीतिले प्रभाव पारेको बताउनुभयो । उहाँले जिल्लामा कि्रयाशिल दलहरुका गतिविधिप्रति खवरदारी गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष रामशरण वस्नेतले जिल्लाको विकास निर्माण कार्यलाई अघि बढाउन दलहरुविच सहमति र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले विकास निर्माणका हरेक गतिविधि योजनावद्ध ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि वजेट सार्वजनिक कार्यक्रममा शुभकामना मन्तब्य राख्ने वक्ताहरुले भने वजेट कार्यान्वयन हुनेमा हाशंका ब्यक्त गरेका छन् । दलहरुविचको किचलोका कारण जिल्ला परिषद पनि समयमै हुन नसकेको भन्दै उनीहरुले यस्तै अवस्था रहे वजेट कार्यान्वयनमा पनि समस्या आउन सक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले जिल्ला परिषद ढिला हुनुको कारण र यसबाट विकास निर्माणमा पर्ने असरबारे दलहरुले स्पष्ट पार्दै जिल्लावासीसँग माफी माग्नुपर्ने बताउनुभयो । उहाँले वजेट कार्यान्वयनका लागि दलहरुविचको मनमुटावको अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो । थापाले जिल्लामा पत्रकारीताको विकासका लागि जिल्ला विकास समितिले पर्याप्त सहयोग नगरेको भन्दै गुनासो गर्नुभयो । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामवावु जोशीले दलहरुको वेवास्ताका कारण जिल्लाको विकास निर्माणका गतिविधि मन्द भएकोमा गुनासो गर्नुभयो । उहाँले राजनीतिक दलका कार्यकर्ताहरुविच गाउँघरमा हुने झैझगडाको असर जिल्लाको विकास निर्माणमा पर्न नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष जानुका पौेडेल अखिल नेपाल महिला संघकी अध्यक्ष सानुमाया वस्नेत नेपाल महिला संघकी पम्फा गान्धारी जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्ती आदीवासी जनजाती जिल्ला समन्वय समितिका उपाध्यक्ष बुद्धिबहादुर तामाङ्ग दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष शंकर कोइराला गाविस सचीव शंकर कोइराला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा उत्कृष्ट काम गरेवापत जिल्ला विकास समितिमा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कार्यालयका सब इन्जिनियर काचन खनाल स्वाँरा गाविस सचीव गोविन्दराज श्रेष्ठ गाँखु गाविस सचीव रामप्रसाद ढकाल सिम्जुङ्गका गाविस सचीव शेखरनाथ न्यौपाने लेखापाल प्रदिपकुमार आचार्य र कार्यालय सहयोगी भवदत्त कट्टेल रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि जिल्ला न्यायधिश प्रभा वस्नेतले नगद ३ हजार सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

No comments: