Sunday, May 30, 2010

ब्यावसायिक रुपमा सजिवन खेतीको तयारी

१६ जेठ २०६७
गोरखाको बिभिन्न ९ गाविसमा ब्यावसायिक रुपमा सजिवन खेती गरिने भएको छ । जिल्लाको पालुङटार गाइखुर खरिवोट छोप्राक मनकामना मकैसी घ्याल्चोक भुम्लीचोक र च्याङ्ली गाविसको ४ सय रोपनी क्षेत्रमा सजिवन खेतीको तयारी भएको एभरेष्ट वायो डिजल कम्पनीका फिल्ड कोअर्डिनेटर कृष्ण धितालले जानकारी दिनुभएको छ ।
ती गाविसका तीनसय जना किसानलाई सजिवन खेतीको प्राविधिक ज्ञान सिकाइ ब्यवसायिक रुपमा खेती गराई जीविकोपार्जनमा समेत सुधार गराउने उहाँले बताउनुभयो । खेती नहुने र खेर गएको जमिनको सदुपयोग गरी किसानहरुलाई थप आयआर्जनको ब्यवस्था मिलाउन सजिवन खेती नै उपयोगी हुने उहाँको धारणा छ । गोरखाको अधिकांश गाविसको हावापानी सजिवन खेतीका लागि उपयुक्त भएपनि तत्कालका लागि नौ गाविसमा प्रयोगात्मक रुपमा खेती गर्न लागेको धितालले स्पष्ट पार्नुभयो ।
सजिवन खेती गरिने गाविसमा कम्पनीले निशुल्क रुपमा विउ दिने उत्पादन नदिएसम्म प्रत्यक्ष निगरानी गर्ने र उत्पादित सजिवनको दाना पनि खरिद गर्ने भएको छ । गाउँघरमा खेतीवालीको रक्षा गर्न बारको रुपमा प्रयोग गरिने सजिवनको दानावाट निकालिने तेलबाट गाडी चल्ने प्रमाणित भएपछि कम्पनीले गोरखामा यसको ब्यवसायिक खेती गराउने प्रयास गरेको हो ।
कम्पनीले किसानहरुलाई सजिवन खेतीबारे जानकारी गराउन आज चितवनको दारेचोकमा सजिवन खेती विस्तार संबन्धि एकदिने अभिमुखीकरण कार्यक्रम साचालन गरेको छ । विकास केन्द्र नेपाल एभरेष्ट बायोडिजल कम्पनीको आयोजना र फिनल्याण्ड दुतावासको सहयोगमा साचालित कार्यक्रममा सजिवन विशेषज्ञ डाक्टर खेमराज भट्टराई कृषि विशेषज्ञ जगदिशचन्द्र कुँइकेल जिल्ला वन कार्यालय गोरखाका सहायक वन अधिकृत साजीव आचार्य आयोजक संस्थाका फिल्ड कोअर्डिनेटर कृष्ण धिताल लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गोरखाको पालुङटार गाइखुर खरिवोट भुम्लीचोक मनकामना मकैसी घ्याल्चोक भुम्लीचोक र च्याङ्ली गाविसका ३६ जना किसानहरुको सहभागी थिए ।

No comments: