२१ बैशाख २०६७
गाउँका युवाहरु आमहड्ताल सफल पार्न काठमाडौ गएपछि गोरखाका उत्तरी गाउँहरु सुनसान भएका छन् । माओवादीले मजदुर दिवशमा काठमाडौमा गर्ने प्रदर्शन र त्यसपछिको आमहड्तालमा सहभागी हुन गाउँबाट ठुलो संख्यामा युवाहरु त्यसतर्फ गएपछि आरुघाट माथिका गाउँहरु सुनसान भएका हुन् ।
काठमाडौ गएका छोराछोरीहरु यत्तिका दिनसम्म पनि घर नफर्केपछि लापु गाविसका बुढाबुढीहरु चाँडै छोराछोरी फर्कने कामना गर्दै प्रार्थना गर्न थालेका स्थानीय जीव गुरुङले जानकारी दिनुभएको छ । बुढाबुढीहरुले अमहड्ताल चाँडै टुङ्गियोस् र दलका नेताहरुवीचको छलफल चाँडै निष्कर्षमा पुगोस् भनी प्रार्थनामा लागेका गुरुङले बताउनुभयो । गाउँभरिका बुढाबुढीहरु एकै ठाउँमा हड्ताल फिर्ता भइ छोराछोरी घर फर्कने कामना गरेका उहाँले बताउनुभयो ।
यसैवीच बन्दका कारण पेन्सन लिन आरुघाट झरेका उत्तरी क्षेत्रका पेन्सनरहरु अलपत्र परेका छन् । घरबाट पेन्सन लिन काठमाडौ जान लागेका ५० भन्दा बढी भारतीय तथा नेपाली भूपू सैनिकहरु आरुघाटबाट आज घरतिर फर्केका छन् । पेन्सन लिन जान लागेका पेन्सनरहरु आरुघाटबाट गाडी नपाएपछि मात्र आमहड्तालबारे थाहा पाएर घर फर्केका हुन् ।
No comments:
Post a Comment