९ जेठ २०६७
गोरखामा पछिल्ला दिनहरुमा सवारी दूर्घटनामा कमी आएको छ । त्यस्तै ट्राफिक नियमको उल्लंघन गरी सवारी चलाउने क्रम पनि घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियमको पालनामा गरिएको कडाइका कारण दूर्घटनामा कमी आएको कार्यालयले दावी गरेको छ । कार्यालयका अनुसार गएको चैत महिनामा जिल्लामा २ शय २१ सवारी दूर्घटना भएकोमा बैशाख महिनामा कमी आएको छ । बैशाख महिनामा जिल्लामा साना ठूला गरी १ शय ८१ वटा सवारी दूर्घटना भएका छन् । ट्राफिक नियम पालनामा गरिएको कडाईले दूर्घटनामा कमी आएसँगै राजस्व संकलन पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक सूर्य थापाले जानकारी दिनुभएको छ । कार्यालयले सवारी नियम उल्लंघन गर्नेमाथि गरेको कारवाहीबाट चैत महिनामा २७ हजार ७ शय रुपैया राजस्व संकलन गरेकोमा बैशाख महिनामा घटेर २४ हजार १ शय ५० रुपैया संकलन भएको छ ।
जिल्लामा ट्राफिक नियमको पालना नगरि सवारी साधन चलाउने क्रम बढेको गुनासो आएपछि चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । कार्यालयले सकेसम्म दैनिक र नसकिए साप्ताहिक रुपमा छड्के जाँच गर्दै आएको उहाँको भनाई छ । सदरमुकाम र वजारक्षेत्रमा ट्राफिक नियम पालनामा कडाई गरिएपनि जिल्लाका कच्ची सडकहरुमा भने त्यो प्रभावकारी हुन नसकेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । कच्ची सडकमा चल्ने सवारी साधनले छतमा यात्रु राख्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण दूर्घटनाको सम्भावना बढ्दै गएको उनीहरुको भनाई छ ।
No comments:
Post a Comment