Monday, May 3, 2010

सहमति नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने

२० बैशाख २०६७
एकिकृत माओवादीले सहमति नभएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने बताएको छ । माओवादीले शान्ति संविधान र राष्ट्रिय सहमतिको सरकारको मुद्धा उठाएर सुरु गरेको आन्दोलन निष्कर्षमा नपुगेसम्म कुनैपनि हालतमा नरोकिने बताएको हो । माओवादीले मुलुकले क्षति बेहोर्ने अवस्था आएमा आमहड्ताल फिर्ता हुनसक्ने भएपनि आन्दोलन जारी रहने बताएको छ ।
एकिकृत माओवादी गोरखाले आज सदरमुकाममा पत्रकारहरुसंग गरेको अन्तरकि्रर्यामा जिल्ला इन्चार्ज कृष्ण धितालले सहमतिको पहिलो वाधक सरकार भएकोले तत्काल सरकारले राजीनामा दिएर सहमतिको वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको आन्दोलन सरकार परिवर्तन मात्र नभएर भारतीय हस्तक्षेप विरुद्ध भएको स्पष्ट पार्नुभयो ।
भारतले पूजीपति र सामन्तवादीहरुको पक्षमा संविधान बनाउन चाहेको र पुराना संसदवादी दलले त्यसलाई स्वीकार गरेकोले आफुहरु आन्दोलनमा जानुपरेको उहाँले बताउनुभयो । माओवादीको आन्दोलन सरकार प्राप्तीका लागि भएको प्रचार गरिएपनि संविधान निर्माण राष्ट्रिय स्वाधिनता र विदेशी हस्तक्षेप विरुद्धको आन्दोलन भएको उहाँले स्पष्ट पार्नुभयो ।
सो अवसरमा सभासद् अमर तमुले भावी संविधानको विषयबस्तु नै आन्दोलनको मुख्य मुद्धा भएकाले यो आन्दोलन केही दिनमा नै सफल हुने दावी गर्नुभयो । आफुहरु श्रमजीविको पक्षमा संविधान लेख्न लागेको र अन्य दल विपक्षमा रहेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । संविधानमा सासकीय स्वरुप र संघीयताको मोडलको विषयमा दलहरुवीचको असहमति नै आन्दोलनको मुख्य मुद्धा भएको उहाँले स्पष्ट पार्नुभयो ।
सो अवसरमा पत्रकारहरुले दलहरुवीच सहमति बन्न नसक्दा आमहड्तालले जनजीवन कष्टकर बन्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका थिए । आन्दोलन शान्तिपुर्ण भएपनि आमहड्ताल धेरैदिनसम्म जारी रहेमा नागरिकले सास्ती बेहोर्नुपर्ने उनीहरुले बताएका थिए ।

No comments: