Monday, June 14, 2010

पालुङटारको हवाइ मैदानको उपयोग गरी रोजगारको ब्यवस्था गर्न माग

३० जेठ २०६७
गोरखाको पालुङटार ९ हवाइग्राउण्ड क्षेत्रका वासिन्दाले गाउँको हवाइ मैदानको उपयोग गरी स्थानीयलाई रोजगारको ब्यवस्था गर्न माग गरेका छन् । गाउँमा नै रहेको करिब १ हजार ६ सय मिटर लामो र ३ सय मिटर फराकिलो मैदानमा २०३४ सालदेखि हवाइजहाज आउन छाडेपछि मैदान प्रयोग विहीन अवस्थामा रहेको छ । सो मैदानमा कुनै कलकारखानाको स्थापना गर्न सकेमा रोजगारीको अवसर पाउने र आयआर्जन वृद्धि हुने स्थानीय चित्रबहादुर श्रेष्ठले बताउनुभयो । जहाज आउन छाडेपछि सधै मैदान खाली राख्नुभन्दा आयआर्जनको काममा लगाउनुपर्ने उहाँको भनाइ थियो ।
हाल सो मैदानमा स्थानीयले वस्तुभाउ चराउने गर्छन् भने कहिलेकाँही युवाहरुले खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेका छन् । २०१५ सालदेखि जहाज आउन थालेको सो हवाइमैदान पृथ्वी राजमार्ग खुलेसंगै साचालनमा आउन छाडेको हो । काठमाडौ र पोखरा जोड्ने गरी पृथ्वीराजमार्ग खुलेपछि यात्रुहरु सस्तो भाडामा वसबाट नै यात्रा गर्न थालेपछि हवाइजहाज चल्न छाडेको हो । तत्कालिन अवस्थामा जहाजको भाडा ६५ रुपियाँ र वसको भाडा ८ रुपियाँ रहेको स्थानीयको भनाइ छ ।
गाउँको राम्रो जमिन लामो समयदेखि उपयोग विहीन हुनुभन्दा केही गरेर आयआर्जनको वातावरण बनाउन स्थानीयले बिभिन्न निकायमा पहल समेत गरेका छन् । मैदानमा रंगशाला निर्माण गरी खेलकुद क्षेत्रको विकासको वातावरण तयार गर्नुपर्ने आफुहरुको माग रहेको मस्र्याङ्दी युवा क्लबका सचिव विकास बानियाँले बताउनुभयो ।

No comments: