Thursday, June 10, 2010

गोरखाको एक विद्यालयमा अनौठो रोग

२६ जेठ २०६७
गोरखाको आरुअर्वाङ्ग गाविस ४ कल्लेरीको इन्द्रकन्या माध्यमिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखा परेको छ । विद्यालयमा पढाई भैरहेका बेला छात्राहरु एक्कासी बेहोश हुने रुने चिच्याउने र अश्लिल शब्द बोल्ने समस्या देखिएको शिक्षक राजकुमार लामाले जानकारी दिनुभएको छ । एक हप्तादेखि सुरु भएको यस्तो समस्या हालसम्म १६ छात्राहरुमा देखिसकेको उहाँले बताउनुभयो ।
हाल दैनिक २÷३ जनामा यस्तो समस्या देखिदै आएको छ । अचानक बहोश भएका छात्राहरुले होशमा आएपछि जथाभावी दौडने ढुङ्गा र हतियारले साथी र शिक्षकहरुलाई हिर्काउने गरेपछि पठनपाठनमा समेत समस्या देखिएको विद्यालयले जनाएको छ । विरामी भएका विद्यार्थीहरु मध्ये कतिपय घरमा पुगेपछि सामान्य भएपनि कतिपयमा भने समस्या दोहोरिएको अर्का शिक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । बिरामी परेका विद्यार्थीलाई ९÷१० जना विद्यार्थीले समातेर घरतिर लैजादा समेत उनीहरु भाग्ने र जथाभावी दौडेर समस्या पारेका उहाँले बताउनुभयो ।
समस्याबारे विद्यालयले अभिभावक र स्थानीय स्वास्थ्यकर्मीसँग छलफल गरेको छ । रोग नियन्त्रणको उपाय निकाल्न नसकेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक लामाले बताउनुभयो । दिनदिनै देखिएको यस्तो समस्याले सामान्य अवस्थ्ााका विद्यार्थीहरु पनि समस्यामा परेका छन् भने कतिपयलाई यस्तै समस्या देखापरेको छ । विद्यालयमा देखिएको समस्याप्रति अभिभावक र शिक्षकहरु चिन्तित भएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डाक्टर गुणराज लोहनीले उक्त समस्या मास हिस्टेरियाका कारण भएको बताउनुभयो । परीक्षा नियमित अध्ययन वा अन्य घरायसी वातावरणका कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हुनसक्ने उहाको भनाइ छ । उचित मनोबिमर्श र औषधी सेवनबाट समस्या समाधान हुने उहाँले स्पष्ट पार्नुभयो ।

No comments: