२० जेठ २०६७
पुर्वाधार विकास र फोहोर फाल्ने ठाउँ ब्यवस्थित गर्नुपर्ने माग नगरपालिकाले पुरा नगरेको भन्दै गोरखा नगरपालिका ८ का वासिन्दाले गोरखा सदरमुकामको फोहोर आजबाट आफ्नो वडाभित्रको डम्पिङ साइटमा फाल्न दिएका छैनन् । नगरपालिकाले वडा नंबर ८ को जुँगेपानीमा वर्षेनी फोहोर फाल्दै आएपनि स्थानीय वासिन्दाको माग बमोजिम पुर्वाधार विकासमा सहयोग नगरेपछि फोहोर फाल्न नदिएको उनीहरुको भनाइ छ ।
नगरपालिकाले विगत ७ वर्षदेखि फोहोर फाल्दै आएपनि डम्पिङ साइटलाई ब्यवस्थित नबनाएको डम्पिङ साइटसम्मको सडक फराकिलो नबनाएकोले अबदेखि फोहोर फाल्न नदिनॆ एकीकृत माओवादीको तर्फबाट वडा प्रतिनिधि अमृत केसीले जानकारी दिनुभएको छ । नगरपालिकालाई यस विषयमा पटक पटक जानकारी गराउदा पनि बेवास्ता गरेकाले फोहोर रोक्न बाध्य भएको उहाँले बताउनुभयो ।
स्थानीय वासिन्दाको घाँसदाउरा लिन जाने ठाउँमा फोहोरले दुर्गन्ध भएको वर्षामा फोहोरहरु बगाएर खेतमा पुर् याएको र वाटो साँघुरो हुदा दुर्घटना बढेकाले सडक फराकिलो बनाउनुपर्ने र डम्पिङ साइट ब्यवस्थित बनाउन माग गरेका हुन् । बाटो छेउमा फोहोर थुपार्दा आवत जावतमा पनि समस्या परेकाले डम्पिङ साइट बाटोदेखि टाढा बनाउनुपर्ने एमालेका तर्फबाट संयन्त्र प्रतिनिधि कल्पना कुँवरले बताउनुभयो ।
नगरपालिका कार्यालयलाई फोहोरले पारेको समस्याबारे पटक पटक जानकारी गराउदा पनि वेवास्ता गरेकाले बाध्य भएर फोहोर रोक्नुपरेको नेपाली कांग्रेसका गाउँ संयन्त्र प्रतिनिधि टंकबहादुर वानियाँले बताउनुभयो । उहाँले अबदेखि वडा नंबर ८ मा फोहोर फाल्न पनि नदिने दावी गर्नुभयो । यस विषयमा वडावासीले नगरपालिकालाई दुइमहिने अल्टिमेटम दिएको थियो भने त्यसको एकमहिनापछि समस्याबारे स्मरण गराएको थियो ।
स्थानीय वासिन्दाले फोहोर फाल्न नदिएपछि नगरपालिकाले आज विहान उठाएको फोहोर ट्याक्टरमा नगरपालिका कार्यालयमा नै राखेको छ । फोहोर फाल्न नदिएपछि भोलीदेखि गोरखा सदरमुकामको फोहोर नउठ्ने निश्चित भएको छ । यस विषयमा नगरपालिकाकासंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन ।
No comments:
Post a Comment