Wednesday, June 2, 2010

भवन निर्माणका लागी रकम संकलन

१८ जेठ २०६७
गाउँमा आएका पाहुनाहरुको स्वागत सत्कार गरी गोरखाको मान्वु गाविसका महिलाहरुले भवन निर्माणको लागि रकम संकलन गरेका छन् । बिभिन्न ठाउँबाट मान्वु घुम्न आउने आगन्तुकलाई गाउँमा स्वागत सत्कार गर्ने र खानपीनको ब्यवस्था गरी समूहको भवन निर्माणको तयारी गरेको शितलादेवी महिला समूहकी अध्यक्ष सावित्री कार्कीले जानकारी दिनुभएको छ ।
महिला समूहले गाउँ आउने पर्यटकलाई फुलमाला लगाएर सम्मान गर्ने र गाउँ घुमाउने समेत गरेका छन् । उनीहरुले आगन्तुकलाई स्थानीय परिकार सहितको खाजा तथा खानाको ब्यवस्था गरी त्यसवापत प्राप्त आम्दानी समूहको कोषमा जम्मा पारी भवन बनाउन लागेका हुन् । कतिपय आगन्तुकले खुशी भएर आर्थिक सहयोग समेत गरेका अध्यक्ष कार्कीले बताउनुभयो ।
६ वर्ष अघि गठन भएको मान्वु ४ को सो समूहले महिला समूहको भवन निर्माणको लागि गाउँमा भाडाकुँडा भाडामा लगाएर पनि आर्थिक संकलन गरेका छन् । गाउँमा विवाह ब्रतबन्ध हुदा ठुलो संख्यामा भाडाकुँडा चाहिने भएकाले त्यस्ता भाडाकुँडा शुल्क लिएर पनि आर्थिक संकलन गरेको अध्यक्ष कार्कीले बताउनुभयो । महिला समूहले स्वागत सत्कार र भाडाकँडाबाट प्राप्त आम्दानीले नपुगेमा आफैले श्रमदान गरी यसवर्ष भित्र भवन निर्माण गर्ने जनाएको छ ।

No comments: