Tuesday, June 8, 2010

गोरखा सदरमुकामको फोहोर केही दिनमा उठ्ने संकेत

२५ जेठ २०६७
गोरखा सदरमुकामको फोहोर केही दिनमा उठ्ने संकेत देखिएको छ । कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले फोहोर फाल्ने क्षेत्रको विकासका लागि थप दुइलाख दिने प्रतिवद्धता जनाएपछि नगरपालिका वडा नंबर ८ का प्रतिनिधिहरु गाउँमा छलफल गरेर निर्णय गर्ने भन्दै बाहिरिएका थिए । बैठकपछि स्थानीयले तत्काललाई सदरमुकामको फोहोर फाल्नलाई डम्पिङ साइट केही दिन खुला गर्ने विषयमा गाउँ छलफल गरेका छन् । एक दुइ दिनभित्र छोटो अबधीक्ा लागि खुलाउने स्थानीय अमृत केसीले बताउनुभयो ।
आफुहरुले पैसाको लागि नभइ डम्पिङ साइटबारे नगरपालिका र राजनीतिक दलको ध्यानाकर्षण गराउन र दिर्घकालीन समाधानको लागि आन्दोलन गरेको केसीले बताउनुभयो । वडा नंबर ८ का वासिन्दा तर्फबाट आज वार्तामा सहभागीहरुसंग कार्यकारी अधिकृत अधिकारीले यसैवर्ष खर्च गर्न सक्ने गरी ४ लाख रुपियाँ दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले चाडै उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न समेत आग्रह गर्नुभएको छ ।
स्थानीय वासिन्दाले भने समस्याको दिर्घकालीन समाधानका लागि एक पटक राजनीतिक दलका प्रतिनिधिहरुसंग छलफल गरेर मात्र फोहोर फाल्न दिने विषयमा निर्णय लिने बताएका छन् । राजनीतिक दलले फोहोरको समस्यालाई उपेक्षा गरेकोले उनीहरुलाई समस्या अवगत गराउन वार्तामा वस्ने केसीले बताउनुभयो ।
नगर संयन्त्रमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफुहरु सो समस्याप्रति गम्भीर भएको भन्दै समस्या समाधानका लागि सहयोग गर्ने बताएका छन् । स्थानीय वासिन्दाको अबरोधका कारण गोरखा सदरमुकामको फोहोर ६ दिनदेखि उठ्न सकेको छैन । आफुहरुको समस्या नबुझी नगरपालिकाले हचुवाको भरमा वजेट छुट्याएको भन्दै लक्ष्मीबजारका वासिन्दाले जुगेपानीमा फोहोर फाल्न नदिएका हुन् । फोहोर उठ्न नसक्दा सदरमुकामका हरमटारी शक्तिचोक वसपार्क लगायतका ठाउँको सडकमा फोहोर थुपि्रन थालेको छ । फोहोरका कारण वसपार्क क्षेत्रमा दुर्गन्ध समेत फैलन थालेको छ ।

No comments: