Sunday, June 20, 2010

गोरखाका गाविस सचीवहरु त्रसित

६ असार २०६७
संयुक्त जातीय मुक्तिमोर्चा नामको भूमिगत संगठनले सामुहिक राजीनामाको माग सहित धम्किपूर्ण चिठी पठाएपछि गोरखाका गाविस सचीवहरु त्रसित बनेका छन् । पोष्ट वक्स नम्वर १ शय २४ ठमेल काठमाण्डौको ठेगानाबाट गएको जेठ ३१ गते चेतावनीपूर्ण पत्र आएपछि सचीवहरु चिन्तित भएका छन् । हुलाक मार्फत आएको पत्रमा गाविस सचीव पदबाट राजीनामा नगरे जस्तोसुकै कारवाही गर्न संगठन बाध्य हुने चेतावनी दिइएको गाविस सचीव हकहित संरक्षण केन्द्र गोरखाका सचीव प्रकाश शर्माले जानकारी दिनुभयो । पत्रमा बाहुनवादी र हिन्दू साम्राज्यवादीहरुले संविधानसभालाई असफल बनाएको आरोप लगाउँदै बाहुनवादी गाविस सचीवलाई तुरुन्त राजीनामा गर्न चेतावनी दिइएको उहाँले बताउनुभयो । पत्रमा कारवाहीको भागिदार गाविस सचीवनै हुनुपर्ने पनि उल्लेख गरिएको उनको भनाई छ ।
पत्र प्राप्त भएपछि बसेको जिल्लाका गाविस सचीवहरुको सामुहिक भेलाले राजीनामा गर्ने वा नगर्ने बारे अन्य जिल्लाको प्रतिकि्रया हेरेर मात्र निर्णय गर्ने निष्कर्ष निकालेको छ । भेलाले कार्यक्षेत्रमा खटिदाँ सतर्क रहने र सुरक्षा निकायको नियमित सम्पर्कमा रहने निर्णय पनि गरेको छ । गाविस सचीव हकहित संरक्षण केन्द्रको केन्द्रिय समितिले पनि कार्यक्षेत्रमा नजान र सुरक्षा निकायको सम्पर्कमा रहन आग्रह गरेको केन्द्रका जिल्ला सचीव शर्माले जानकारी दिए । धम्कीपूर्ण पत्रबारे जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराईसकिएको उनले बताए। स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले सचीवहरुलाई आएको धम्कीबारे छलफल भैरहेको बताए । भूमिगत संगठनको धम्की पछि गाविस सचीवहरु सदरमुकाम केन्द्रित हुन थालेका छन् । हाल गोरखाका ६६ गाविसका लागि ४१ जना सचीव कार्यरत छन् ।

No comments: