Tuesday, June 22, 2010

भुमिगत समुहको धम्कीले गोरखाका सचिवहरुले राजीनामा नदिने

८ असार २०६७
भुमिगत समूहले राजीनामाका लागि धम्कीपुर्ण पत्र पठाएपनि गोरखाका गाविस सचिवहरुले राजीनामा नदिने भएका छन् । एक साताअघि हुलाकमार्फत धम्कीपुर्ण पत्र पाएका गाविस सचिवहरुले तत्काल राजीनामा नदिने बताएका हुन् । आर्थिक वर्षको समाप्तीमा सर्बसाधारणको काम धेरै हुने भएकाले राजीनामा दिएर गैर जिम्मेवारपुर्ण काम नगर्ने सचिवहरुले बताएका हुन् ।
जनताको सेवाका लागि काम गर्दै आएकाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको थुमी गाविस सचिव तीर्थराज भट्टले बताउनुभयो । आर्थिक वर्ष सकिन लाग्दा गाविसको दोश्रो र तेश्रो किस्ता बजेट झिकेर गाउँका बिभिन्न योजनाहरुमा वितरण गर्नुपर्ने अवस्थामा राजीनामा दिदा विकास निर्माण प्रभावित हुने भएकाले राजीनामा नदिने उहाँले बताउनुभयो ।
सचिवहरुले तत्कालका लागि गाउँमा गएर काम गर्न सक्ने अवस्था नभएपनि सदरमुकाममा नै वसेर सेवाग्राहीको काम गर्ने बताएका छन् । धम्कीले गाउँमा गएर काम गर्नसक्ने वातावरण नभएकाले द्वन्द्वकालमा जस्तै सदरमुकाममा बसेर काम गर्ने गाविस सचिव हकहित संरक्षण केन्द्र गोरखाका सचिव प्रकाश शर्माले बताउनुभयो ।
अहिले गोरखाका अधिकांश गाविसमा तेश्रो किस्ता बजेट पुग्न सकेको छैन भने कतिपयको दोश्रो किस्ता समेत गएको छैन । सचिवहरुले काम गर्न कठिन भएमा सम्पुर्ण सचिवहरुवीचको छलफलबाट निर्णय लिने बताएका छन् । संयुक्त जातीय मुक्ति मोर्चा नेपाल नामको समूहले सचिवहरुलाई राजीनामा नदिएमा जे पनि हुन सक्ने भन्दै धम्कीपुर्ण पत्र पठाएको थियो । उता सचिवहरुले भने आफुहरुलाई गाविस अध्यक्षको समेत काम गरेकाले राजीनामाको धम्की आएको अनुमान गरेका छन् । अरु कार्यालयका कर्मचारीलाई धम्की नआउने र गाविस सचिवलाई मात्र धम्की आउँनाले गाविस अध्यक्षको समेत काम गरेकाले हुन सक्ने सचिव तीर्थराज भट्टले बताउनुभयो ।

No comments: