२१ असार २०६७
आर्थिक वर्ष समाप्तिको केही दिन मात्र बाँकी रहदा पनि गोरखाको २२ वटा गाविसले गाउँ विकास समिति अनुदान अन्तर्गतको तेश्रो किस्ता बजेट पाउन सकेका छैनन् । तीन किस्ता गरी गाविसमा जाने रकममध्ये २२ गाविसले साँढे ३ देखि ४ लाख २५ हजार रुपियाँ बजेट जिविसले उपलब्ध गराउन नसकेको हो । सबै गाविसमा गरी जिल्लामा गाविस अनुदानको २ करोड रकम अपुग भएको जिविसले जनाएको छ ।
तेश्रो किस्ता बजेट पाउन नसक्ने गाविसमा फिनाम बुंकोट अश्राङ नाम्जुङ ताप्ले ताक्लुङ मकैसी घ्याल्चोक ताङ्लीचोक धुवाकोट च्याङ्ली छोप्राक रहेका छन् । त्यसैगरी ताकुमाझ लाकुरीबोट वारपाक पाँचखुवा देउराली धावा तान्द्राङ मान्वु आरुचनौटे आरुपोखरी उहिया र लाप्राक गाविसमा पनि तेश्रो किस्ताको बजेट जान नसकेको जिल्ला विकास समितिको लेखा शाखाले जनाएको छ ।
तेश्रो किस्ता बजेट गएको गाविसमा पनि कुल बजेटको २५ प्रतिशत रकम जान नसकेको शाखाले जनाएको छ । गाविसमा जाने रकम नेपाल सरकार र जापान सरकारको साझेदारीको रकम हो । जसमध्ये सबै गाविसले नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने रकमजति पाएको र जापान सरकारको रकम नआएको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्म रकम आउने संभावना भएपनि तत्कालका लागि आउने नआउनेबारे केही भन्न नसकिने उहाँले बताउनुभयो । देशभरिका सबै जिल्लाका गाविसले तेश्रो किस्ता बजेट नपाउने समस्या देखिएको छ ।
अनुदानको रकम नपाउदा गाविसमा काम गर्न कठिनाइ भएको गाविस सचिवहरुले गुनासो गरेका छन् । तेश्रो किस्ताको रकम नआउदा योजना पुरा गरी रकम लिन आउने उपभोक्ता समितिलाई पुरा पैसा दिन नसकेको अश्राङ गाविसका सचिव लालप्रसाद भट्टराईले बताउनुभयो । कतिपय उपभोक्ता समितिलाई अन्य योजनाबाट पैसा कटाएर दिनुपरेको उहाँको भनाइ थियो ।
गाविसमा पहिलो दोश्रो र तेश्रो गरी तीन पटकमा अनुदानको रकम जाने गरेको छ । एक पटकमा करिब ५ लाख रुपियाँ गाविसमा जाने गरेको छ र सो रकम खर्च प्रगतिको आधारमा तेश्रो किस्ताको बजेट आउने भएकोले ढिला गरी प्रगति बुझाउने गाविसले तेश्रो किस्ता रकम पाउन नसकेका स्थानीय विकास अधिकारी श्रेष्ठले बताउनुभयो । समयमै खर्च प्रगति वुझाउने गाविसले तेश्रो किस्ता बजेट पाएका उहाँले स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment