Thursday, July 8, 2010

जिल्ला तहमै सामाधान खोज्न माओवादी र काँग्रेसका जिल्ला नेतृत्वलाई माओवादी अध्यक्षको आग्रह

२१ असार २०६७
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको घ्याम्पेशालमा भएको घटनापछि उत्पन्न परिस्थितीको समाधान जिल्ला तहमै खोज्न माओवादी र काँग्रेसका जिल्ला नेतृत्वलाई आग्रह गर्नुभएको छ । काठमाण्डौको नयाँवजार स्थित आफ्नै निवासमा हिजो गोरखाका माओवादी र काँग्रेसका जिल्ला तहका नेताहरुसँगको संयुक्त छलफलमा प्रचण्डले ऐतिहासिक जिल्लामा भएको यो घटनाले गलत सन्देश जाने भन्दै यस्तो आग्रह गर्नुभएको हो ।
गोरखा घ्याम्पेशालको दुल्लभ उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठनका क्रममा भएको विवाद पछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न प्रचण्ड निवास पुगेका दुबै पार्टीका जिल्ला नेतृत्वलाई प्रचण्डले प्रतिशोधको भावना नराख्न आग्रह गर्नुभएको छलफलमा सहभागी नेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठले बताउनुभएको छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेलको आग्रहमा प्रचण्डले दुबै पार्टीका जिल्ला तहका नेताहरुसँग संयुक्त छलफल गर्नुभएको एकिकृत माओवादीका जिल्ला सेक्रेटरी चूडामणि खड्का प्रकाशले जानकारी दिनुभएको छ । छलफलमा एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशका साथै सभासद् अमर तमु परशुराम रम्तेल जिल्ला इन्चार्ज कृष्ण धिताल विजय र सेक्रेटरी प्रकाशको सहभागिता रहेको थियो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सभासद् जीवनप्रेम श्रेष्ठ सभापति चीनकाजी श्रेष्ठ पूर्व सभापति चेतमान श्रेष्ठ र सचीव किरणबाबु श्रेष्ठको सहभागिता रहेको थियो ।
यसैविच जिल्ला तहमै बसेर विवाद समाधान गर्ने उदेश्यले दुबै दलका जिल्ला नेतृत्व विच भोली साँझ सदरमुकाममा छलफल हुने भएको छ । साँझ ५ वजेपछि हुने छलफलमा विगतमा भएका घटनाबारे छलफल गरि आगामी दिनमा त्यस्ता घटना हुन नदिनेबारे साझा धारणा तय गरिने काँग्रेसका सचीव किरण बाबु श्रेष्ठले जानकारी दिनुभएको छ । प्रचण्डसँगको भेटपछि काठमाण्डौंको वनस्थलीमा भएको संयुक्त छलफलमा जिल्लामै बसेर समस्या समाधान गर्ने सहमति भएको उहाँले बताउनुभयो । दुबै छलफलमा माओवादीको धम्कीपछि काठमाण्डौ पुगेका भनिएका शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

No comments: