Thursday, July 8, 2010

घ्याम्पेशालको घटनाबारे साचार माध्याममा सत्य तथ्य कुराहरु आउन नसकेको माओवादी भनाई

२० असार २०६७
एकिकृत नेकपा माओवादी गोरखाले असार ११ र १२ गते जिल्लाको घ्याम्पेशालमा भएका घटनाहरुबारे साचार माध्याममा सत्य तथ्य कुराहरु आउन नसकेको बताएको छ । दुल्लभ उच्च माविको विद्यालय ब्यवस्थापन समिति गठनमा भएको विवाद र त्यसपछिका घटनाक्रमबारे साचार माध्यामहरुले यथार्थ कुराहरु बाहिर ल्याउन नसकेको भन्दै माओवादीले आज सदरमुकाममा पत्रकार सम्मेलन गरी घटनाबारे आफ्नो कुरा राखेको हो । पाटि आन्तरिक बैठकमा रहेकाले पत्रकारहरुलाई समयमै घटनाबारे जानकारी गराउन नसकेको जिल्ला सेक्रेटरी चुडामणि खड्काले बताउनुभयो ।
घ्याम्पेशालमा कांग्रेस कार्यकर्ताहरुमाथि एकीकृत माओवादी कार्यकर्ताले कुटपीट गरेको घटना सार्वजानिक भएपनि माओवादी निकटका शिक्षक र ब्यापारीहरुमाथि कुटपीट भएको कुरा साचार माध्याममा आउन नसकेको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो । सो घटनामा माओवादी निकट शिक्षकहरु रामचन्द्र श्रेष्ठ र रामरशरण भट्टराई स्थानीय बासु श्रेष्ठ विकास वन्त रामकुमार श्रेष्ठ र साधुराम श्रेष्ठमाथि कांग्रेस कार्यकर्ताहरुले कुटपीट गरेको उहाँले बताउनुभयो ।
कांग्रेस कार्यकर्ताले घ्याम्पेशालमा रहेको माओवादीको क्षेत्र नंबर ३ को पाटि कार्यालय तोडफोड गरेको सहिद स्मारक प्रतिक्षालय तोडफोड गरेको असुरक्षाको अवस्थ्ाा सिर्जना गरेको र माओवादीको नेता कार्यकर्तालाई आक्रमणको निशाना बनाएको पत्रकार सम्मेलनमा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्टले बताउनुभयो । उहाँले कांग्रेसका कार्यकर्ताहरु आफुहरुमाथि आक्रमण गर्न क्याम्पिङ गरेर बसेको आरोप लगाउनुभयो । सो कार्यक्रममा क्षेत्र नंबर ३ का सभासद् अमर तमुले कांग्रेसले सत्ता र सरकारको दुरुपयोग गरेर घटनाको दुष्प्रचार गरेको बताउनुभयो । कांग्रेसले सोही घटनालाई दलहरुको शीर्ष बैठकमा पनि उठाएर माओवादी विरुद्ध दबाब सिर्जनाको प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
घ्याम्पेशालको दुल्लभ उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठनका क्रममा भएको विवादसँगै काँग्रेस कार्यकर्ता कुटिएपछि आलोचित बनेको माओवादीले घटनाको वास्तविकता बारे जानकारी दिन भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा माओवादी प्रहरी र प्रशासनले पनि कांग्रेसको आक्रमणकारी कार्यकर्तालाई संरक्षण दिएर आफुहरुलाई अफ्ठेरो पारेको बताएको छ ।
उता मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी गोरखाको घ्याम्पेशाल घटनामा कांग्रेस कार्यकर्ता र शिक्षकहरुमाथि एकीकृत माओवादी कार्यकर्ताबाट भएको ब्यबहारको भर्तसना गरेको छ । सभापति पुरुषोत्तम दाहालद्धारा जारी विज्ञप्तिमा माओवादीका २ जना उपाध्यक्ष रहेको जिल्लामा स्थानीय कार्यकर्तामाझ असहमतहरुलाई तह लगाउन प्रतिस्पर्धाजस्तो देखिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा माओवादीलाई तत्काल आक्रमण रोक्न र आम नागरिकको जीउधनको रक्षा गर्न प्रशासनलाई चनाखो हुन आग्रह गरिएको छ । सो विज्ञप्तिमा तत्काल स्थानीय कार्यकर्तालाई अवान्छित कार्यमा नलाग्न र असहमतिको सम्मान गर्न केन्द्रिय रुपमा नै पहल गर्नका लागि माओवादी नेतृत्वलाइ समेत आग्रह गरिएको छ ।

No comments: