Tuesday, July 13, 2010

गोरखकाली मन्दिरसम्म जाने बाटो कालोपत्रे गर्ने कार्य यो आ.व. मा सम्पन्न नहुने

२७ असार २०६७
गोरखा सदरमुकामदेखि गोरखकाली मन्दिरसम्मको बाटो यो आर्थिक वर्षमा कालोपत्रे नहुने भएको छ । सम्पुर्ण तयारी पुरा भएपनि वर्षाका कारण कालोपत्रे गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष सुकदेव तामाङले जानकारी दिनुभएको छ । कालोपत्रेका लागि सडक ३÷४ दिन लगातार चर्को घाममा सुक्नुपर्ने प्राविधिक मान्यता भएकाले वर्षाका कारण सडक कालोपत्रे गर्न नसकिएको उहाँले बताउनुभयो ।
गएको जेठ २ गते सडक निर्माण गर्ने सम्झौता गरेको उपभोक्ता समितिले सडक कालोपत्रेको काम अन्तिम चरणमा पुर् याएको थियो । ढिला गरी योजना सम्झौता भएपनि कालोपत्रे बाहेकको सम्पुर्ण काम सिध्याएको उपभोक्ता समितिले जनाएको छ । समितिले कालोपत्रेका लागि चाहिने चिप्स गिटी अलकत्रा दाउरा लगायत सम्पुर्ण समाग्री र कामदार समेत जुटाइसकेको अवस्थामा मौसमका कारण काम अघि बढाउन नसकेको सचिव विष्णु रानामगरले बताउनुभयो । समितिले साँढे ७ लाखको अलकत्रा ४ लाखको चिप्स गिटी १ लाखको दाउरा १ लाख २० हजार रुपियाँ भाडा तिरेर रोलर ल्याउनुका साथै आवश्यक कामदारको ब्यवस्था गरी भुक्तानी समेत दिइसकेको थियो ।
जिल्ला विकास समितिको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र जिविस अनुदानको ४३ लाख ५० हजार ५०० रुपियाँ र उपभोक्ताको ११ लाख ५० हजार रुपियाँको लागतमा छहरेदेखि सतीपिपलको डाडाँसम्मको ११ सय ६० मिटर सडक कालोपत्रे र ७० मिटर सडक ढलानको जिम्मा उपभोक्ता समितिले पाएको थियो । जसमध्ये ढलानको काम सकिएको र ९ सय ६० मिटर सडक कालोपत्रे गर्न बाँकी छ भने २०० मिटर सडकमा पनि ग्राभेल भइसकेको छ । समितिले करिब ६०० मिटर नाली समेत निर्माण गरेको छ ।
समयमा काम सिध्याउन नसक्दा यस योजना अन्तर्गत विनियोजन भएको करिब १९ लाख ६५ हजार रुपियाँ पि्रुज हुने संभावना बढेको छ । जिविसले काम भएको आधारमा मात्र रकम दिने हुँदा उपभोक्ता समितिले खरिद गरेर ल्याइसकेको तर प्रयोग हुन बाँकी रहेको सामाग्रीको पैसा नपाउने भएका छन् । खरिद गरेर ल्याइसकेको सामाग्रीको पैसा समेत नपाउदा उपभोक्ताहरु निराश भएका छन् ।

यसै विषयमा जानकारी गराउन छहरे सतीपीपल गैरीकुवा गोरखकाली सडक उपभोक्ता समितिले आज राजनीतिक दल स्थानीय निकाय र उपभोक्ता समितिको संयुक्त बैठक राखेको थियो । सो अवसरमा उपभोक्ता समितिका कोषाध्यक्ष चण्डिका श्रेष्ठले मौसमका कारण तत्काल काम गर्न नसक्ने भएपनि उपभोक्ताको खर्च भइसकेको पैसा जिविसले उपलब्ध गराइदिए सजिलो हुने बताउनुभयो ।
स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ीन्ऋम्ए अन्तर्गतको रकम पेश्की दिन नमिल्ने भएकाले सडकमा भएको काम बाहेकको रकम भुक्तानी गर्न नसकिने बताउनुभयो । उहाँले बरु आगामी वर्षको योजनामा थप बजेट र समयमा नै योजना सुरु गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा उपस्थित एकीकृत माओवादीका लेखबहादुर थापा नेपाली कांग्रेसका इश्वर पाण्डे र नेकपा एमालेका बाबुराम थापाले उपभोक्ता समितिलाई अफ्ठेरो नपर्ने गरी योजना अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । उहाँहरुले तत्काल भुक्तानी गर्न कठिनाइ भएमा आगामी वर्ष समयमा नै वजेट बाँडफाँड र थप रकमका लागि राजनीतिक संयन्त्रमा पहल गर्ने बताउनुभयो ।
बैठकले तत्काल योजना साचालन गर्न कठिनाइ भएकाले खरिद गरेर ल्याइसकेको समाग्रीहरु उपभोक्ताहरुले संरक्षण गर्ने र सडक कालोपत्रे नहुन्जेलसम्म ठुला सवारी आवागमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । बैठकले मौसम अनुकुल हुने वित्तिकै कालोपत्रेको काम सुरु गर्ने पनि निर्णय गरेको छ ।
उपभोक्ता समितिले भने ढिला गरी योजना सम्झौता गरेकाले समयमा काम पुरा गर्न नसकेको जनाएको छ । राजनीतिक दलले समयमा नै योजना छनोट र बजेट बाँडफाँड गरेको भए आफुहरुको लाखौ मुल्यको सामाग्रीहरु अलपत्र नपर्ने उपभोक्ताहरुको भनाइ छ ।

No comments: