३१ असार २०६७
८ जना कर्मचारीको दरबन्दी रहेको गोरखा कारागार अहिले करारका कार्यालय सहयोगीको भरमा साचालन भइरहेको छ । १ जना नायब सुब्बा खरदार सहलेखापाल सिनिएर अहेब र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको कारागारमा हाल अस्थायी रुपमा नियुक्त गरेका ४ जना कार्यालय सहयोगीले मात्र काम सम्हाल्दै आएका छन् । उनीहरुको करार अबधी पनि यही असार मशान्तबाट सकिएको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुदा कारागारको नियमित काम साचालनमा समेत कठिनाइ परेको कारागारको पनि काम सम्हाल्दै आएका जिल्ला प्रशासन कार्यालयका लेखापाल कृष्णहरि ढकालले बताउनुभयो । कर्मचारी अभावमा बन्दीलाई समय समयमा पर्ने समस्या समाधानका लागि कठिनाइ भएको उहाँले बताउनुभयो । २ जना कार्यालय सहयोगी पहिल्यै देखि रिक्त रहेको कारागारका जेलर खरिदार र २ जना कार्यालय सहयोगीले गत वर्ष स्वेच्छिक अवकाश लिएको र सहलेखापाल पनि बढुवा भइ जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछि कारागार कर्मचारी विहीन भएको हो । कारगारमा सरकारले यसवर्षदेखि सिनियर अहेबको दरबन्दी कायम गरेपनि अहिलेसम्म हाजिर भएका छैनन् ।
कर्मचारीको अभावमा कारागारको काम नै नहुने अवस्थ्ाा आएपछि प्रशासन कार्यालयका नायब सुब्बा र लेखापाललाई कारागारको काम समेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो । थप जिम्मेवारी लगाउदा प्रशासन कार्यालयका कर्मचारीले कामको भार बढेको बताएका छन् । कर्मचारी नभएको बारे कारागार ब्यवस्थापन बिभागमा पटक पटक आग्रह गरेपनि अहिलेसम्म नपठाएको उहाँले बताउनुभयो । माथिल्लो निकायले लोकसेवा आयोगमार्फत पदपुर्ति गर्न आग्रह गरेपनि लोकसेवा आयोगबाट पनि पदपुर्ति हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । हाल गोरखा कारागारमा ५९ पुरुष र ५ जना महिला बन्दी रहेका छन् ।
No comments:
Post a Comment